पोखरा : पोखरामा जारी ११औँ आहा रारा गोल्ड कपमा उपाधिको दाबेदार मानिएको नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा आर्मीले पुलिसलाई १–० ले पराजित गर्यो ।
पोख्रेली दर्शकको साथ पाएको त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई चौथो भेटमा कठिन जित निकाल्दै सातौँ र आठौँ आहा गोल्डकपको फाइनलमा भोगेको पराजयको बदलासमेत लियो । यी दुई टिम आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा चौथोपटक भिडेका हुन् ।
निर्धारित समयको खेल सकिन पाँच मिनेट बाँकी छँदा विकर्ण श्रेष्ठले गोल गर्दै आर्मीको जित सुनिश्चित गरेका थिए । ८५औँ मिनेटमा सन्तोष नेपालीको पासमा डी–बक्सभित्र रहेका विकर्णले पुलिसका गोलरक्षक विशाल श्रेष्ठलाई बिट गर्दै गोल गर्दा आर्मी तेस्रोपटक सेमिफाइनल पुग्यो भने पुलिस दोस्रोपटक क्वार्टरफाइनलबाटै बाहिरियो । आर्मीले पोखरेली मैदानमा पहिलोपटक पुलिसलाई पराजित गरेको हो । दसौँ संस्करणमा पुलिस क्वार्टरफाइनलमा मनाङमस्र्याङ्दीसँग १–० गोलले पराजित भएको थियो । (सौस)
प्रतिक्रिया