हरेक दिन ६ हजार सिरियाली जोडनतर्फ

जेनेभा : गृहयुद्ध र आन्दोलनका कारण देश छाडेर भाग्ने सिरियालीको संख्यामा बढ्दो छ । शुक्रबार मात्रै सिरियाका कम्तीमा पनि ६ हजार चार सय नागरिक देश छाडेर जोर्डन छिरेको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघीय शरणार्थी संस्थाले सिरियाको सिमाना काटेर शरणार्थीका रूपमा ती नागरिक जोर्डन छिरेको जनाएको छ । जोर्डनस्थित शरणार्थी शिविरमा यस महिना मात्रै करिब २० हजार शरणार्थी आएको संस्थाले जनाएको छ । जोर्डनको शरणार्थी शिविरमा अहिले ६५ हजार सिरियाली नागरिकले आश्रय लिएको राष्ट्रसंघले जनाएको छ । सिरियामा २०११ को मार्च महिनादेखि सुरु भएको उक्त आन्दोलनका कारण लाखौँ नागरिक शरणार्थीका रूपमा विभिन्न देशमा पुगेका छन् । उनीहरू विशेष गरी छिमेकी देश लिबिया, जोर्डन, टर्कीलगायतका देशमा धेरै संख्यामा पुगेको जनाइएको छ ।
सिरियामा राष्ट्रपति बसर अल असदको शासन अन्त्यको माग गर्दै जारी आन्दोलनका कारण शरणार्थी बन्न पुगेका लाखौँ सिरियालीलाई मानवीय सहायताको आवश्यक परेको राष्ट्रसंघले जनाएको छ । सिरियाको सीमा पार गर्दै छिमेकी राष्ट्र लेबनान, जोर्डन, टर्की र इराकमा पनि ठूलो संख्यामा सिरियाली जनता शरणार्थीको रूपमा छिरेको राष्ट्रसं्घले जनाएको छ ।
सिरियामा २२ महिनाअघिदेखी जारी आन्दोलनका क्रममा ६० हजारभन्दा बढीको मृत्यु भएको मानवअधिकारवादीहरूले जनाएका छन् । उनीहरूका अनुसार आन्दोलनका क्रममा अन्य लाखौँ घाइते भएका छन् भने कैयौँ बेपत्ता छन् ।
हाल सिरियामा विपक्षीहरूसँग पनि हतियार रहेकाले त्यहाँ गृहयुद्ध चलिरहेको छ । केही समययता आन्दोलनरत विपक्षीहरूले पनि हतियारबाटै आक्रमण गर्न थाल्दा स्थिति भयावह बनेको बताइन्छ । आन्दोलनकारीले राष्ट्रपति असदको राजीनामा माग गर्दै आएका छन् । तर, राष्ट्रपति असादले भने राजीनामा नदिने अडान राख्दै आएका छन् । (एएफपी)

प्रतिक्रिया