अमेरिकासँग हिसाब चुक्ता गरिन्छ : उत्तर कोरिया

सोल : उत्तर कोरियाले पुन: परमाणु हतियार परीक्षण गर्ने चेतावनी दिएको छ । दुईपटक परमाणु हतियार परीक्षण गरेको उत्तर कोरियाले त्यस्ता परीक्षणप्रति आपत्ति राष्ट्रसंघले जनाइरहँदा पुन: परीक्षणको चेतावनी दिएको हो । साथै उसले अमेरिकासम्म मार हान्नसन्ने क्षमता विस्तारमा लागिपरेको स्वीकारसमेत गरेको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले नेतृत्व गरेको मुलुकको मुख्य शासकीय मण्डल राष्ट्रिय प्रतिरक्षा परिषद्ले मंगलबार यस्तो चेतावनी दिएको हो । राष्ट्रसंघ सुरक्षा परिषद्ले डिसेम्बरमा उत्तर कोरियाले गरेको लामो दूरीसम्म पुग्ने रकेट प्रक्षेपणको आलोचना गर्दै उत्तर कोरियाविरुद्धको नाकाबन्दीलाई थप कसिलो बनाएपछि रुष्ट बनेको कोरियाले यस्तो चेतावनी दिएको हो । सुरक्षा परिषद्ले मंगलबार रकेट परीक्षणलाई ‘क्षेप्यास्त्रसँग सम्बन्धित प्रतिबन्धित क्रियाकलापको संज्ञा दिएको थियो ।
तर, उत्तर कोरियाले भने अन्तरिक्षमा भू–उपग्रह तैनाथ गर्न रकेट प्रक्षेपण गरेको दोहोर्‍याउँदै शान्तिपूर्ण प्रयोजनका लागि गरिएका कार्यप्रति आपत्ति जनाउनुको कुनै तुक नरहेको जिकिर गरेको छ । साथै उसले अमेरिकासम्म मार हान्नसक्ने क्षमता विस्तारतर्फ प्रक्षेपण रहेको संकेतसमेत गरेको छ ।
उत्तर कोरियाविरुद्ध राष्ट्रसंघको कारबाही अमेरिकाप्रायोजित रहेको दाबी गर्दै उसले अमेरिकाको प्रतिरोध गर्न परमाणु हतियार परीक्षणको नयाँ चरण आरम्भ गर्ने चेतावनी दिएको छ । ‘हामी एकपछि अर्को गर्दै विविध किसिमका भू–उपग्रह र लामो दूरीसम्म प्रक्षेपित हुने रकेट परीक्षण गर्नेछौँ र यो कुरा हामीले कसैसँग लुकाउनु छैन । साथै उच्च स्तरका परमाणु परीक्षण पनि हुनेछन् र त्यो अमेरिकाविरोधी संघर्षको नयाँ चरण हुनेछ,’ परिषद्ले जनाएको छ । अमेरिकासँगको हिसाबकिताब बोलीले नभई बलले चुक्ता गर्ने चेतावनीसमेत उत्तर कोरियाले दिएको छ ।
यसअघि दक्षिण कोरियाले अमेरिकी भूमिमै परमाणु क्षेप्यास्त्र प्रहार गर्नसक्ने क्षमता उत्तरले विकास गरेको दाबी गरेको थियो । डिसेम्बरमा भएको रकेट प्रक्षेपण सफल भएको घटनाले अमेरिकी भूमीमै निसाना साध्ने क्षमता उत्तरले विकास गरेको देखिएको दक्षिणले जनाएको थियो । उत्तर कोरियासँग लामो दूरीसम्म मार हान्नसक्ने क्षमता विकास नहोस् भन्नेमा अमेरिका चनाखो रहँदै आएको छ । तर, दक्षिणको पछिल्लो भनाइलाई आधार मान्ने हो भने दस हजार किलोमिटर परसम्मको क्षेत्रलाई आक्रमणको तारो बनाउनसक्ने क्षमता उत्तर कोरियाले हासिल गरेको छ । यदि, दक्षिणको अनुमान सत्य हो भने उत्तर कोरियाले अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा परमाणु क्षेप्यास्त्र खसाउन सक्छ । उत्तर कोरियाले रकेट परीक्षण गरेपछि अमेरिका र उसका साझेदार राष्ट्र चिन्तित भएका छन् । सफल परीक्षण गरेर उत्तर कोरियाले क्षेप्यास्त्र विकास र तैनाथका क्षेत्रमा उल्लेख्य फड्को मारेको विश्लेषकहरूको भनाइ छ ।
उन्हा–३ रकेट सफलतापूर्वक प्रक्षेपण गरेपछि पाँच सय देखी ६ सय केजीको मुखास्त्र (वारहेड) दस हजार किलोमिटर परसम्म प्रहार गर्नसक्ने क्षमता उसले हासिल गरेको दक्षिण कोरियाले जनाएको थियो । सन् २००६ र २००९ मा उत्तर कोरियाले परमाणु हतियार परीक्षण गरेपछि उत्तर कोरियाले अब उप्रान्त क्षेप्यास्त्र अथवा परमाणु परीक्षण गर्न नपाउने प्रतिबन्ध राष्ट्रसंघले लगाएको थियो । (एजेन्सी)

प्रतिक्रिया