आयकर अधिकारीलाई कारबाही गर्ने चेतावनी

नयाँदिल्ली : भारतको प्रमुख विपक्षी दल भारतीय जनता पार्टी (भाजपा)का पूर्वअध्यक्ष नितिन गडकरीले मुलुकको आयकर विभागका अधिकारीलाई भाजपा सत्तामा आएपछि कारबाही गर्ने चेतावनी दिएका छन् । गडकरीले वित्तीय अनुशासन उल्लंघन गरेको भन्दै विभागले छानबिन प्रक्रिया अघि बढाएपछि विवादमा तानिएका गडकरीले पार्टी नेतृत्वबाट राजीनामा दिइसकेका छन् । उनको स्थान भाजपा नेता राजनाथ सिंहले लिएलगत्तै गडकरीको यस्तो चेतावनी आएको हो ।
भाजपाको सरकार गठन भएपछि आयकर विभागका अधिकारीलाई भारतको सत्तारूढ कांग्रेस आई अध्यक्ष सोनिया गान्धीले पनि बचाउन नसक्ने चेतावनी गडकरीले दिएका छन् । नागपुरमा बिहीबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले बदनाम गर्ने षडयन्त्र अनुरूप आफूलाई विवादमा मुछिएको दाबी गरेका छन् ।
आगामी निर्वाचनमा कांग्रेस आईलाई पराजित गर्ने दाबी गर्दै गडकरीले भने, ‘पहिले सिबिआई कांग्रेस नेताको इशारामा चल्ने गथ्र्यो । यो षडयन्त्र उनीहरूले नै गरेका हुन् । षडयन्त्र गर्ने सरकारी अधिकारी को–को हुन् भन्ने नामै किटेर म भन्न सक्छु ।’ अबको निर्वाचनबाट कांग्रेस बढारिने निश्चित भएकाले भाजपा सत्तामा आएपछि षडयन्त्र गर्ने सरकारी अधिकारीलाई जोगाउन कुनै पि. चिदम्बरम अथवा सोनिया गान्धी नआउने दाबीसमेत गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया