टिभी हेर्ने विवादमा कैदीलाई कुटपिट

झापा, १२ माघ । झापा कारागारका चौकीदार अमित राईलगायत व्यक्तिले कैदी शेरबहादुर थेबेलाई कुटपिट गरी घाइते बनाएका छन् ।
टेलिभिजन हेर्ने विषयमा विवाद भएपछि बुधबार राति चौकीदार राई, नाइके दीपक तामाङलगायतले कुटपिट गर्दा थेबेको टाउको र शरीरमा चोट लागेको छ । उनीहरूले थेबेमाथि लाठी प्रहार गरेको एक कैदीले बताए । ती कैदीका अनुसार प्रहरीले झगडा भएको थाहा पाए पनि चासो दिएन ।
कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका थेबेलाई बेहोस अवस्थामा मेची अञ्चल अस्पताल भद्रपुर लगिएको थियो । तर, अस्पतालमा उपचार नभएपछि स्थानीय पाथीभरा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउकोमा बढी चोट देखिएको चिकित्सकको भनाइ छ । झापा तोपगाछीका थेबे कर्तव्य ज्यान मुद्दामा १५ महिनादेखि सजाय भोग्दै आएका छन् ।
कारागारका कैदीबन्दीले थेबेमाथि भएको कुटपिटको बिहीबार बिहान विरोध गरेपछि प्रशासनले राईलाई नियन्त्रणमा लिएको छ । कारागार प्रमुख खगेन्द्र गिरीले घटना सामान्य भएको प्रतिक्रिया दिए । झापाका प्रहरी प्रमुख एसपी शेरबहादुर बस्नेतले चौकीदार राईलाई हिरासतमा लिई घट्नाको छानबिन भइरहेको जानकारी दिए । (सौस)

प्रतिक्रिया