रुसी नागरिक सिरियाबाट घरतर्फ

बेरुत : सिरियामा रहेका रुसी नागरिक घर फर्किने क्रममा बुधबार लेबनानको राजधानी बेरुत पुगेका छन् । पाँचवटा बसमा सिरियाबाट बेरुत पुगेका ती रुसी नागरिक विमानको पर्खाइमा रहेका लेबनानको समाचार समितिले जनाएको छ । बेरुतस्थित विमानस्थलमा भेला भएका रुसी नागरिकमध्ये अधिकांश महिला तथा बालबालिका रहेको तथा रुसी कूटनीतिज्ञ र रुसी राजदूतवासका कर्मचारी सो समूहमा नरहेको जनाइएको छ । उनीहरूलाई रसिया फर्काउन दुईवटा रुसी विमान मंगलबार सबेरै बेरुत पुगेका छन् ।
गत महिना सिरियामा विद्रोहीहरूको प्रभाव विस्तार तीव्र हुन थालेपछि रुसी नागरिकको उद्दार गर्ने उद्देश्यले रुसले सिरियातर्फ आºनो युद्धपोत पठाएको हो । रुस सिरियाको साझेदार राष्ट्र हो । अमेरिका, युरोप, अरब लिगसहितको अन्तर्राष्ट्रिय समुदायले सिरियाली सत्तालाई विद्रोहीसामु घुँडा टेक्न सुझाव दिइरहेका बेला रुसले भने सिरियाली सरकारको समर्थन गर्दै आएको छ । तर, विद्रोहीले सामरिक महत्त्वका क्षेत्रमा आक्रमणलाई तीव्र पारेपछि सिरियाली सत्ता पतन हुन सक्ने जोखिम बढेको भन्दै सिरियामा रहेका आºना नागरिकको उद्धारका लागि रुसले दुई युद्धपोत, एक ट्यांकर र रक्षकपोत भूमध्यसागरतर्फ पठाएको थियो ।
सिरियाली राष्ट्रपति बसर अल असदको दरिलो साझेदार रहेको रुसले सिरियाली सत्ताको पराजय हुन सक्ने भनाइ राखेपछि सिरियामा विद्रोहीहरूको विजय हुने सम्भावना बढेको लख काटिएको थियो । विद्रोहीहरूले सिरियाको उत्तर–पश्चिम तथा पूर्वी क्षेत्रको ठूलो भूभागमा आºनो नियन्त्रण कायम गरेपछि रुसी उपविदेशमन्त्री मिखाइल बोग्दानोभले सिरियाली सरकार विद्रोहीबाट पराजित हुन सक्ने बताएका थिए । त्यसअघि भने रुसले सिरियाली सरकारको पतन स्वीकार्य नहुने जनाउँदै आएको थियो । अमेरिका, टर्की, साउदी अरबलगायत मुलुकले सिरियाविरुद्ध सैन्य कारबाही गर्नुपर्ने बताएका बेला रुसले त्यसको विरोध गरेको थियो । (एजेन्सी)

प्रतिक्रिया