युद्धका लागि तयार रहन भारतको आह्वान

श्रीनगर : परमाणु युद्धको अवस्थाका लागि आवश्यक तयारी गर्न भारत प्रशासित कास्मिरका जनतालाई भारतीय प्रशासनले आह्वान गरेको छ । सीमा क्षेत्रमा परमाणु हतियारसम्पन्न पाकिस्तान र भारतका सेनाबीच गोलाबारी हुने क्रम जारी रहेको भनिएका बेला स्थानीय भारतीय प्रशासनले यस्तो आह्वान गरेको हो । युद्धको अवस्थामा सुरक्षित रहन दुई सातासम्मलाई पुग्ने खाद्यान्न, पानी र बमनिरोधी तहखाना (बेसमेन्ट) निर्माण गर्न पनि भारत प्रशासित कास्मिरका जनतासँग आह्वान गरिएको छ ।
कास्मिरका स्थानीय अधिकारीले यस्तो आह्वानप्रति प्रतिक्रिया जनाएका छैनन् । तर, सोमबार ‘ग्रेटर कास्मिर’ नामक पत्रिकामा कास्मिर प्रहरीले सूचना जारी गरी परिवारका सम्पूर्ण सदस्य एक सातासम्म बस्न मिल्ने शौचालयसहितको तहखाना निर्माण गर्न आह्वान गरेको थियो । तहखानको व्यवस्था गर्न नसके घरको प्रांगणमा बंगर खन्न कास्मिरवासीलाई सुझाव दिइएको छ । ‘साथै घरमा मैनबत्ती, ब्याट्रीबाट चल्ने बत्ती, रेडियो, नकुहिने खाद्यान्न र शुद्ध पानीको व्यवस्था गर्न पनि सूचनामार्फत सुझाव दिइएको छ,’ पाकिस्तानी पत्रिका ‘डन’ले मंगलबार उल्लेख गरेको छ ।
आक्रमण भएको खण्डमा सवारीसाधन चलाउनेलाई सवारीबाहिर निस्किन सुझाव दिइएको छ । रासायनिक तथा जैविक हतियारबाट आक्रमण भए कसरी बच्ने भन्ने विषय पनि सूचनामा समेटिएको छ । साथै, खराब नियत भएका व्यक्तिलाई आश्रय नदिन स्थानीयवासीलाई चेतावनी दिइएको छ ।
भारत र पाकिस्तान दुवैले सम्पूर्ण कास्मिरमाथि पूर्णस्वामित्व दाबी गर्दै आएका छन् । कास्मिरमाथिको स्वामित्वसम्बन्धी विवाद समाधान हुन नसकेपछि दुई देशले कास्मिरकै कारण दुईपटक युद्ध लडिसकेका छन् । अहिले कास्मिरको दुई तिहाई भाग भारतमा छ भने बाँकी पाकिस्तानको अधीनमा छ ।
यस महिनाको आरम्भयता सीमा क्षेत्रमा दुई देशका सैनिकबीच गोली हानाहानका घटना घट्दै आएको छ । यस क्रममा पाकिस्तानका तीन र भारतका दुई गरी जम्मा पाँच सैनिकको मृत्यु भइसकेको छ ।
भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान भएको समाचार सार्वजनिक भएयता दुई देशबीचको सम्बन्धबारे सर्वत्र चासो व्यक्त गरिएको छ । दुवै राष्ट्रले अर्को पक्षले भिडन्त आरम्भ गरेको दाबी गरेका छन् । सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएयता भारत र पाकिस्तानबीच तीनपटक युद्ध भइसकेको छ । भारतसँग ८० देखि सयवटा र पाकिस्तानसँग ९० देखि एक सय १० वटा परमाणु हतियार रहेको एक अमेरिकी अध्ययन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)

प्रतिक्रिया