बार्सिलोनाको अपराजित यात्रा टुंगियो

म्याड्रिड, ८ माघ : शनिबार राति रियल सोसिएड्याडविरुद्ध ३–२ ले पराजित भएपछि स्पेनिस लिगको जारी संस्करणमा बार्सिलोनाको अपराजित यात्रा २०औँ खेलमा आएर टुंगिएको छ । २–० ले अगाडि हुनुका बाबजुद बार्सिलोना विपक्षी मैदानमा खेलिएको यस खेलमा लगातार तीन गोल बेहोर्नपुगेको थियो ।

लिओनेल मेसी र पेड्रोले गोल गरेपछि सुरुको २५ मिनेटमा २–० ले अगाडि रहेको बार्सिलोनालाई पराजित गर्न रियलका लागि ९०औँ मिनेटमा इमानोल अगिरेट्जेले निर्णायक गोल गर्नुअघि गोन्जालो कास्ट्रोले दुई गोल गरी खेललाई बराबरीमा ल्याइपुर्‍याएका थिए ।
दोहोरो पहेँलो कार्डका कारण ५६औँ मिनेटमा बार्सिलोनाले डिफेन्डर जेरार्ड पिकलाई गुमाएको थियो । जारी लिगमा बार्सिलोना २० खेलमा १८ जित र एक बराबरीको नतिजासहित ५५ अंकका साथ शीर्षस्थानमा छ । १९ खेल खेलेको एट्लेटिको म्याड्रिड ४४ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
म्यान सिटी विजयी
फुलहमलाई २–० ले पराजित गर्दै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी चार अंकमा छोट्याएको छ ।
आफूभन्दा एक खेल कम खेलेको म्यान युलाई शीर्षहोडमा चुनौती दिने क्रममा म्यान सिटीका लागि शनिबार राति डेभिड सिल्भाले दुवै गोल गरे । शनिबार राति लिभरपुल र स्वान्साले पनि आफ्ना खेल जिते । एजेन्सी

प्रतिक्रिया