बन्धक विदेशीको जीवन अनिश्चित

इन अमेनास : अल्जेरियाको सहारा मरुभूभिमा रहेको ग्यास उद्योगमा बन्धक बनाइएका विदेशी नागरिकको जीवन अझै अनिश्चित छ । शुक्रबार एक अमेरिकी बन्धकको मृत्यु भएको छ । आफ्ना बन्धक साथी छुटाउन तथा मालीमा सैनिक कारबाही अन्त्य गर्न हतियारधारीहरूले विदेशीहरूलाई बन्धक बनाएको बताइएको छ ।
स्थानीय एएनआई समाचार संस्थाले अलकायदासँग आबद्ध बन्दुकधारीले अझै सात विदेशीलाई लिबियाको सीमानामा रहेको सहारा मरुभूमिमा बन्धक बनाएको जनाएको छ । अल्जेरियाका सुरक्षा अधिकारीले बन्धकको संख्या १० भएको जानकारी दिएका छन् । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले यसलाई ‘क्रूर आक्रमण’को संज्ञा दिँदै जीवन गुमाएका र जीवन जोखिममा परेका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गरेकी छन् । उनले निरपराध व्यक्तिको जीवन जोगाउन होसियारीपूर्वक कदम चालिनुपर्ने बताएकी छन् । अमेरिकी प्रतिरक्षामन्त्री लियोन पनेटाले अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित रूपमा घर फर्काउन चौबीसै घन्टा काम गरिरहेको जानकारी दिएका छन् । उनले अमेरिकाले बन्धकलाई अन्य कुनै व्यक्तिसँग नसाट्ने प्रस्ट पारेका छन् । अमेरिकी विदेशमन्त्रालयकी प्रवक्ता भिक्टोरिया नुल्यान्डले मारिएका अमेरिकी नागरिकको नाम प्रेmडरिक बुटाचो भएको जानकारी दिएक छिन् ।
राष्ट्रसंघ सुरक्षा परिषद्ले बन्धक बनाउने कार्यको भत्र्सना गरेको छ । अल्जेरियाले बन्धक बनाउनेविरुद्ध तत्काल सैनिक करबाही थाल्दा बन्दी मारिएको भन्दै अल्जेरियाको अन्तर्राष्ट्रिय रूपमा आलोचना भएको छ । अल्जेरियाली सुरक्षा अधिकारीले कारबाहीमा १२ बन्धक तथा १८ अपहरणकारी मारिएको जानकारी दिएका छन् ।
जापानी विदेशमन्त्री किसिदाले अल्जेरियालाई बन्धकको सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गरेका छन् । जापानी प्रधानमन्त्री सिन्जो आबेले सरकारले बन्धक बनेका जापानी नागरिकको सुरक्षाका लागि सकेसम्म प्रयाश गर्न आदेश दिएका छन् । फ्रान्सेली विदेशमन्त्री लरो फावियसले एक फ्रान्सेली नागरिकको मृत्यु भएको बताएका छन् । एक अमेरिकी अधिकारीले अमेरिकी सैनिक विमानले बाँचेका व्यक्तिको उद्धार कार्य आरम्भ गरेको जानकारी दिएका छन् । (एएफपी)

प्रतिक्रिया