स्कुलको शौचालयभित्रै बालिका बलात्कृत

पञ्जली : भारतको गोवा राज्यस्थित विद्यालयको शौचालयमै एक सात वर्षीया छात्रा बलात्कृत भएकी छिन् । विद्यालयका प्रधानाध्यापकको कार्यालयसँगै जोडिएको शौचालयमा उनी सोमबार बलात्कृत भएकी हुन् । गोवाको भास्को डा गामा सहरमा रहेको दिपविहार हाइ स्कुलमा बलात्कारको घटना भएको हो ।
छात्राको नामलगायत अन्य परिचय खुलाइएको छैन । अभिभावकले उनलाई शौचालयभित्र बलात्कृत भइसकेको अवस्थामा फेला पारेको भारतको आइएएनएस समाचार एजेन्सीले जनाएको छ । बलात्कृतको घटना सार्वजनिक भएपछि अभिभावक, बलात्कृत छात्राका साथी र स्थानीयवासीले शिक्षक तथा विद्यालयका प्रशासनिक अधिकारीलाई कार्यालयभित्रै थुनेर विरोध गरेका थिए । सोमबार सबेरैदेखि बलात्कारीलाई कडा कारबाही माग गर्दै त्यहाँ प्रदर्शन चर्किएको थियो ।
‘पिसाब फेर्न शौचालय पसेकी ती छात्रा भित्रै बलात्कृत भएकी हुन्,’ नाम उल्लेख नगर्ने सर्तमा एक प्रहरी अधिकारीले भने । प्रध्यानाध्यापको कार्यालय छेउमै बलात्कार हुनुमा स्कुल प्रशासन र प्रध्यानाध्यापक दोषी भएको भन्दै हजारौँ प्रदर्शनकारीले मंगलबार विद्यालय घेराउ गरेका थिए । प्रदर्शनकारीको चर्को विरोधपछि प्रहरीले सहप्रध्यानाध्यापकलाई पक्राउ गरी सोधपुछ गरेको छ । यद्यपि, बलात्कारमा संलग्नको अझै पहिचान हुन सकेको छैन ।
खबर सार्वजनिक भएपछि राज्यमन्त्री मनोहर परिकारलगायत अन्य स्थानीय नेता प्रान्तीय राजधानीबाट ४० किलोमिटर दूरीमा रहेको घटनास्थल पुगेका थिए । बालिकालाई उपचारार्थ अस्पताल लगिएको र उनलाई ‘डिस्चार्ज’ गरिएको बताइएको छ । अहिले उनी ठीक भएको र घरमा आराम गरिरएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
राजधानी नयाँदिल्लीमा गुडिरहेको गाडीभित्रैसामूहिक बलात्कार भएपछि घटनाको सिकार भएकी २३ वर्षीय छात्राको मृत्यु भएको घटना सेलाउन नपाउँदै भारतमा बालिका बलात्कारको अर्को घटना भएको हो । २३ वर्षीय ती छात्रामाथि दिल्लीको दक्षिणी भागमा बसभित्रै सामूहिक बलात्कार भएको थियो । केटासाथीलाई रड प्रहार गरी घाइते बनाएर छात्रालाई बलात्कार गरिएको थियो । घटनासम्बन्धी समाचार सार्वजनिक भएपछि आन्दोलन चर्कँदा राजधानी नयाँदिल्लीको जनजीवन केही दिनसम्म अस्तव्यस्त बनेको थियो । सिंगापुरमा उपचारकै क्रममा ती छात्राको निधन भएको थियो । (एजेन्सी)

प्रतिक्रिया