राष्ट्रसंघलाई अनुसन्धान गर्न लगाऔँ : पाकिस्तान

नयाँदिल्ली : भारतीय सीमाभित्र घुसपैठ गरी पाकिस्तानी सेनाले भारतीय सेनाका दुई जवानको हत्या गरेको प्रमाण आफूसँग रहेको भारत सरकारले जनाएको छ । भारत सरकारका तर्फबाट रक्षामन्त्री एके एन्टोनीले बुधबार दुई देशबीच विवादित कास्मिरमा दुई भारतीय सैनिकको हत्यामा पाकिस्तानी सैनिक संलग्न रहेको प्रमाण आफूहरूसँग रहेको दाबी गरेका हुन् । कास्मिरमा भारत र पाकिस्तानबीचको सीमा ‘लाइन अफ कन्ट्रोल’ पार गरी पाकिस्तानी सेनाले भारतीय सैनिकको हत्या गरेको दाबी गर्दै रक्षामन्त्री एन्टोनीले यसलाई ‘अमानवीय कार्य’को संज्ञा दिएका छन् ।
‘उनीहरू (पाकिस्तानी सैनिक)ले दुई भारतीय फौजविरुद्ध कस्तो व्यवहार गरे भन्ने हामीसँग प्रशस्तै प्रमाण छन् । यो अमानवीय कार्य हो र हामीले यसलाई पाकिस्तान सरकारसमक्ष पुर्‍याइसकेका छौँ,’ उनले भने । कोलकातास्थित ‘इन्डियन स्टाटिस्टिकल इन्टिच्युट’को ४७ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै रक्षामन्त्री एन्टोनीले यस्तो बताएका हुन् ।
आफ्ना सैनिकको हत्या भएको भन्दै भारत सरकारले पाकिस्तानी सरकारसमक्ष औपचारिक रूपमै आपत्ति जनाइसकेको छ । यस्ता घटना अस्वीकार्य भएको जनाउ दिँदै भारतले घटनाबाट दुई देशबीचको सम्बन्धमा खलल पुग्नसक्ने चेतावनी दिएको छ । भारतका लागि पाकिस्तानी हाई कमिस्नर सलमान बासिरलाई मन्त्रालयमा बोलाएर भारतीय विदेशसचिव रञ्जन मथाईले घटनाप्रति भारतको आपत्ति औपचारिक रूपमा सुनाएका हुन् । घटनाको छानबिन अविलम्ब आरम्भ गरी यस्ता घटना नदोहोर्‍याउनसमेत मथाईले पाकिस्तान सरकारलाई सचेत गराएका छन् ।
साथै, भारतको मिलिटरी अपरेसनका निर्देशक प्रमुख लेफ्टिनेन्ट जनरल विनोद भाटियाले आफ्ना पाकिस्तानी समकक्षी मेजर जनरल अस्फक नदिमसँग कुरा गरी घटनाप्रति आपत्ति जनाएका छन् । जवाफमा मेजर नदिमले सीमा पार गरी आफ्ना सैनिकले भारतीय सैनिकमाथि आक्रमण नगरेको बताएको भारतीय पत्रिका ‘टाइम्स अफ इन्डिया’ले जनाएको छ । नाम उल्लेख गर्न नचाहने एक पाकिस्तानी सैनिकलाई उद्धृत गर्दैै समाचारमा भनिएको छ, ‘मेजर जनरल नदिमले आफ्ना भारतीय समकक्षी भाटियालाई भारतले भनेजस्तो कुनै घटना सीमाक्षेत्रमा नघटेको जानकारी दिए । आफ्ना दुई सनिकको हत्या भएको भन्ने कुरो भारतीय सेनाको प्रोपोगन्डा सिवाय अरू केही होइन ।’
पाकिस्तानी विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी पाकिस्तानी सेनामाथि लगाइएको आरोप मिथ्या र आधारहीन भएको जनाएको छ । घटनासम्बन्धी अनुसन्धानका लागि राष्ट्रसंघीय पर्यवेक्षक टोलीलाई बोलाउनसमेत पाकिस्तान तयार रहेको विज्ञप्तिमा जनाइएको छ ।
यसअघि आइतबार भारत र पाकिस्तानबीच विवादित कास्मिरमा गोली हानाहान भएको समाचार सार्वजनिक भएका थियो । गोली हानाहानबाट एक पाकिस्तानी सैनिकको मृत्यु भएको थियो भने अन्य दुई घाइते भएका थिए । दुवै राष्ट्रले अर्को पक्षले भिडन्त आरम्भ गरेको दाबी गरेका छन् । त्यसको भोलिपल्ट भारतले पाकिस्तानी सेनाले आफ्ना दुई सैनिकको हत्या गरेको आरोप लगाएको थियो ।
दक्षिण एसियाका दुई परमाणु हतियारसम्पन्न राष्ट्रबीच गोली हानाहान भएको घटनाप्रति अमेरिकाले समेत चासो व्यक्त गरेको छ । अमेरिकी विदेश प्रवक्त भिक्टोरिया नुल्यान्डले घटनाप्रति अमेरिकाको ध्यानाकर्षण भएको जनाउँदै दुवै पक्षलाई भिडन्त बन्द गरी व्यापार र आवतजावत प्रयोजनका लागि ‘लाइन अफ कन्ट्रोल’लाई विधिवत् रूपमा सञ्चालनमा ल्याउन आग्रह गरेकी थिइन् । कास्मिरलगायत विवाद समाधानका लागि दुई देशले चाल्ने हरेक सकारात्मक कदमप्रति अमेरिकाको समर्थन रहने उनले बताएकी थिइन् ।
सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएयता तीनपटक युद्ध लडिसकेका मुलुकबीच सैन्य तनाव उत्पन्न भएपछि यसलाई विश्वभरबाट चासोपूर्वक हेरिएको छ । दुई राष्ट्रबीच सन् २००३ को नोभेम्बरयता युद्धविरामको अवस्था विद्यमान छ । भारतसँग ८० देखि एक सयवटा र पाकिस्तानसँग ९० देखि एक सय १० वटा परमाणु हतियार रहेको एक अमेरिकी अध्ययन केन्द्रको प्रतिवेदनमा उल्लेख छ । (एजेन्सी)

प्रतिक्रिया