न्याय सम्पादनमा अवरोध नगरौं : आयोग

काठमाडौं, २५ पुस । राष्ट्रिय मानव अधिकार आयोगले दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्तहरूको बयानलगयातका अनुसन्धान र न्याय सम्पादन प्रक्रिया रोकिएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आज विज्ञप्ति जारी गरेर पत्रकार थापाको हत्या सम्बन्धमा २०६४ साल साउन–२१ गते आयोगमा उजुरी परिसकेको जनाएको छ । ‘आयोगको पहलमा थापाको शवोत्खनन गरी शवको पहिचान गरिएको थियो र थप अनुसन्धान प्रक्रिया अघि बढाइएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
आयोगले हत्यामा माओवादीका कार्यकर्ता जिम्मेवार रहेको उल्लेख गर्दै पीडितका परिवारजनलाई राहत, क्षतिपूर्ति र परिपूरणको व्यवस्था गर्न सरकारलाई निर्देश गरेको छ ।
पीडकलाई कानूनी कारबाही गर्न आयोगले २०६५ साल साउन–६ गते सरकारलाई सिफारिश गरेको पनि आयोगले स्मरण गरेको छ ।
‘अनुसन्धान र तहकिकात कार्यलाई निर्वाध रूपमा अघि बढाउने कार्यमा सहयोग गर्न, आयोगको सिफारिश तत्काल कार्यान्वयन गर्न र प्रेस स्वतन्त्रताको सम्मान गर्न आयोग सरोकारवाला पक्षहरूसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकार थापाको हत्या मुद्दामा अवरोध गरेको समाचार सार्वजनिक भए पछि आयोगले चिन्ता जनाएको हो ।

प्रतिक्रिया