प्रजातन्त्र जोगाउन आह्वान

इस्लामावाद : पाकिस्तानी प्रधानमन्त्री रजा पर्भेज असर्रफले प्रजातन्त्र जोगाउन मुलुकवासीलाई आह्वान गरेका छन् । साथै, उनले शान्तिसुरक्षा बहालीका लागि राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै यसका निम्ति जनतासँग आग्रह गरेका छन् ।
प्रजातन्त्रमाथि कताबाट संकट आइलागेको छ भन्ने प्रस्ट नखुलाए पनि उनको संकेत पाकिस्तानी सेनातर्फ रहेको अनुमान धेरैले गरेका छन् । पाकिस्तानमा सेना ज्यादै शक्तिशाली मानिन्छ र मुलुकको प्रतिरक्षा र विदेश नीतिमा सरकारलाई सेनाले डोहोर्‍याउने गरेको विश्वास गरिन्छ ।
पकिस्तानी पत्रिका ‘डन’ले शनिबार प्रधानमन्त्री रजालाई उद्धृत गर्दै लेखेको छ, ‘अनिश्चितता, कोलाहल र अस्थिरताले मुलुकलाई अप्ठ्यारो अवस्थामा पुर्‍याउँछ । लामो संघर्षबाट हासिल गरेको व्यवस्था अवरुद्ध पार्न खोज्नेदेखि हामी जोगिनुपर्छ ।’ मुलुकको राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न राज्यका सबै निकाय संविधानको परिधिभित्र रही सञ्चालित हुनु आवश्यक रहेको समेत उनले उल्लेख गरेका छन् ।
पाकिस्तानले ‘गैरराज्य तत्त्व’बाट चुनौती व्यहोरिरहेको समेत प्रधानमन्त्री रजाले स्वीकार गरेका छन् । ‘उनीहरूले राज्यको चिह्न र संस्थालाई तारो बनाएर आºना एजेन्डा लाद्न खोजिरहेका छन् ।’ ‘नाम र अनुहार दुबै नभएको’ दुस्मनसँग मुलुकले मुकाबिला गर्नुपरिरहेको समेत प्रधानमन्त्रीले बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया