एमाओवादीले जनता झुक्काउँदैः पोखरेल

दाङ, २१ पुस । एमाले सचिव शंकर पोखरेलले एमाओवादीले निर्वाचनका कुरा गरेर जनतालाई झुक्याईरहेको आरोप लगाएका छन् ।
रिपोटर्स क्लब नेपाल दाङ शाखाले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाओवादीले सत्तामा टिकिरहेर सत्ता कव्जा गर्न चाहेको दाबी गरे ।
उनले भने, ‘एमाओवादीले निर्वाचन चाहेको होइन, निर्वाचनका कुरा गरेर सत्ता लम्बाउन चाहेको छ ।’ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बोलीमा कुनै विश्वास नरहेको आरोप सचिव पोखरेलको छ । उनले भने, ‘यदि पुष्पकमल दाहालको बोलीमा विश्वास भएको भए सुशीलजी प्रधानमन्त्री भै सक्नु हुन्थ्यो ।’
उनले पछिल्लो पटक एमाओवादीले स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार गठन गर्न गरेको प्रस्ताव अरुलाई अल्मलाउने चाल मात्र भएको आरोप लगाए ।
‘प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकार छोडनु परे आफू प्रधानमन्त्री हुने दाउँमा पुष्पकमल दाहालले खेल खेलीरहेका छन्,’ उनले भने ।
उनले मुख्य चार दलको सहमतिमा सरकार गठन हुन नसक्ने राष्ट्रपतिले नै चुनावी सरकार बनाउनु पर्ने बताए । उनले भने, ‘अब चुनावी सरकार बनाउन राष्ट्रपतिलाई अधिकार दिनु पर्छ ।’

प्रतिक्रिया