आर्मीको ‘गति’ सामु थ्री–स्टार ड्रमा सीमित

काठमाडौं : प्रमुख दुई खेलाडी भरत खवास र नवयुग श्रेष्ठविना नै उत्रिए पनि नेपाल आर्मीले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत बिहीबार शीर्षस्थानको थ्री–स्टार क्लबलाई गोलरहित बराबरीमा रोकेको छ । रक्षापंक्तिमा बलियो देखिएको आर्मीले उदीयमान फर्वाड दिलीप लामाको ‘सानदार’ प्रदर्शनका बीच पूरा समय बलियो चुनौती दिएर थ्री–स्टारलाई शीर्षस्थानको अन्तर थप फराकिलो बनाउने अवसरबाट रोकेको हो ।
राम्रो लयमा देखिएको थ्री–स्टारविरुद्ध आर्मीका डिफेन्डरद्वय रामकुमार विश्वास र जितेन्द्र कार्कीले उत्कृष्ट प्रदर्शन गरे । सुरुआतमा आफ्नै गल्तीका कारण अग्रता लिनबाट चुकेको थ्री–स्टार पछि भने आर्मीको बलियो रक्षापंक्तिसामु लगातार असफल हुन पुग्यो । खेलको १२औँ मिनेटमै सन्तोष साहुखलले क्रसमार्फत राम्रो अवसर निकाले पनि विजय गुरुङको टाइमिङ ढिलो भयो । २०औँ मिनेटमा भिक्टरले साहुखललाई क्रसमार्फत अर्को राम्रो अवसर उपलब्ध गराएका थिए तर आर्मीका डिफेन्डर विश्वासले डाइभ गर्दै हेडमार्फत बल क्लियर गरे । पहिलो हाफको अन्त्यतिर काउन्टर अट्याकको मुभमा भिक्टरले ‘डी’ बक्सको आउटसाइड एजबाट गरेको प्रहार क्रसबारको थोरै माथिबाट गएको थियो । ५३औँ मिनेटमा बायाँ फ्लान्कबाट विराज महर्जनले राम्रो क्रस निकाले पनि जितेन्द्र बाधक बने ।
५५औँ मिनेटमा थ्री–स्टारले गोल गर्ने ‘रियल चान्स’ पाएको थियो तर भिक्टरले फ्लान्कबाट गरेको क्रसमा सेकेन्ड बारमा अनमार्कड देखिएका विजय गुरुङले हेडमार्फत गरेको प्रहारमा कुनै ‘फुटबलिङ सेन्स’ देखिएन । त्यसको केही मिनेटमा रामकुमार विश्वासले अर्को अवसरमा थ्री–स्टारलाई निरास बनाए ।
कार्डका कारण एक खेलको प्रतिबन्धका रूपमा थ्री–स्टारविरुद्ध खेल्न नपाएका भरतको स्थानमा उत्रिएका अमृत बस्नेतले राम्रो प्रदर्शन गर्न नसके पनि पहिलो रोजाइका नियमित फर्वाड दिलीपले भने टेक्निकल खेल प्रदर्शन गरेका थिए ।
‘पेस’पूर्ण प्रदर्शनलाई कायम राखेको आर्मीका विंगर टंक बस्नेतले पनि राम्रो प्रदर्शन गरे । बराबरीपछि ११ खेलबाट २६ अंक जोडेको थ्री–स्टारसँग मच्छिन्द्रले अंक तालिकामा बराबरी गर्ने अवसर पाएको छ । थ्री–स्टारभन्दा एक खेल कम खेलेको मच्छिन्द्रले सरस्वतीविरुद्ध हुने खेलमा जित हात पारे कुल अंक २६ पुर्‍याउनेछ । अघिल्लो खेलमा आरसिटीविरुद्ध भएको विवादपूर्ण भिडन्तमा २–१ ले कठिन जित हात पारेको आर्मी ११ खेलबाट १८ अंक जोड्दै पाँचौँ स्थानमा कायम छ । आरसिटीविरुद्धको खेलमा भएको विवादका कारण आर्मीले लयमा रहेका मिडफिल्डर नवयुगलाई तीन खेलका लागि गुमाएको थियो भने अर्का नियमित सदस्य युद्ध शाहीले पनि सोही सजाय पाएका थिए ।
बिहीबार नै भएको अर्को खेलमा जावलाखेल युद्ध क्लबविरुद्ध ३–० ले विजयी हँुदै प्रेmन्ड्सले अंकतालिकामा १५ अंक जोडेर सुपर एट प्रवेशको सम्भावना कायमै राखेको छ । खेलभर दबाबपूर्ण प्रदर्शन गरेको प्रेmन्ड्सलाई जारी प्रतियोगितामा तेस्रो विजय प्राप्त भएको हो । आत्मघाती गोलमार्फत सुरुआती अग्रता लिएको फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकी र विष्णु केसीले गोल गरेका थिए । ६१औँ मिनेटमा फ्रेन्ड्सका डोडोजको प्रहार जावलाखेलका स्टिफनबाट डिफ्लेक्ट हँुदै गोल भएको थियो । प्रकाशको आकर्षक प्रहार बारमा लागेर गोल भएपछि ६७औँ मिनेटमा प्रेmन्ड्सले अग्रता दोब्बर बनायो । इन्जुरी समयमा लयमा रहेका विष्णुले गोल थपेपछि प्रेmन्ड्सले प्रदर्शनबमोजिम स्वाभाविक जित हात पार्‍यो । लगातार दोस्रो जित हात पार्नुअघि ६ बराबरी, २ हार र १ जितको नतिजा निकालेको प्रmेन्ड्स अंकतालिकाको नवौँ स्थानमा छ । (सौस)

प्रतिक्रिया