चौरासी वर्षे दुलहा

प्लेब्वाइ म्यागेजिनका संस्थापक हग हेफ्नरका गालामा चौरासी मुजा परिसके । तैपनि युवतीहरू उनका लागि मरिहत्ते गर्छन् । त्यसो त यी ८६ वर्षे ‘प्लेब्वाइ’ को सम्पत्ति देखेर केटीहरू पछि लाग्ने गरेको आरोप पनि दुई–चारजनाले नलगाएका होइनन् । तर, उनीसँग नजिकिने केटीहरू यसलाई खण्डन गर्दै हेफ्नरको व्यक्तित्व नै लठ्याउने खालको भएको तर्क अघि सार्छन् । यही मोहनीमन्त्रको बलमा हेफ्नरले नयाँ वर्ष २०१३ को प्रारम्भ नयाँ दाम्पत्य सम्बन्धसहित गरेका छन् । त्यो पनि आफूभन्दा साठी वर्ष कान्छीलाई भित्र्याएर ।
न्यु इयर इभमा २६ वर्षीया मोडल क्रिस्टल ह्यारिस र बयोवृद्ध हेफ्नर बिहे बन्धनमा बाँधिएका हुन् । वैवाहिक समारोह हेफको लस एन्जलसस्थित घरमा सम्पन्न भएको थियो । क्रिस्टलले ट्वीट गरेकी छन्, ‘म आफूलाई निकै भाग्यमानी ठान्छु किनकि आज म मिसेस हग हेफ्नर भएकी छु ।’ उनले आफ्नो नाम क्रिस्टल हेफ्नर बनाएकी छन् । हेफ्नरकी सासू नै उनीभन्दा ३० वर्ष कान्छी छिन् । यी वृद्ध प्रेमी र जवान प्रेमिकाले डेढ वर्षदेखिको रोमान्सलाई अहिले बिहेको गाँठोमा बाँधेका हुन् । यसअघि होली म्याडिसन हेफ्नरकी नम्बर १ गर्लफ्रेन्डका रूपमा चिनिन्थिन् । यो हेफ्नरको तेस्रो विवाह हो ।

प्रतिक्रिया