मेरो अभियान सार्थक भयो : ओबामा

वासिंगटन : अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपतीय निर्वाचनताका आफूले अघि सारेको अभियानले सार्थकता पाएको बताएका छन् । अमेरिकामा कर प्रणालीको सुधार र खर्चको सीमासम्बन्धी विषयका पक्षमा निर्वाचनताका ओबामाले अभियान सञ्चालन गरेका थिए । सोसम्बन्धी नीति अमेरिकी सिनेटले पारित गरेपछि मंगलबार उनले यस्तो टिप्पणी गरेका हुन् ।
सन् २००१ मा अमेरिकामा मध्यमवर्गीय परिवारका लागि करको दायरा बढाउने तथा सरकारी तथा अन्य खर्च गर्न पाउने प्रणालीमा पनि सुधार गर्नुपर्ने प्रस्ताव सिनेटमा दर्ता भएको थियो । सो प्रस्तावमाथि लामो छलफलपछि नयाँ वर्षदेखि बढ्नसक्ने करलाई नियन्त्रण गर्न तथा यसका कारण खर्चमा हुने कटौती रोक्नेगरी सिनेटले सोमबार विधेयक पारित गरेको थियो । विधेयक पारित नभए अमेरकी अर्थतन्त्र पुन: मन्दीमा जाने चेतावनी दिइएको थियो । तर, अब भने आर्थिक अवस्थामा सुधार आउनसक्ने बताइएको छ ।
राष्ट्रपति ओबामाले विधेयकले आगामी दिनमा अमेरिकाले गर्नुपर्ने आर्थिक सुधारका कार्यक्रमका लागि मार्ग प्रशस्त गर्ने बताए । अब कंग्रेसमा आफूहरूले रिपब्लिकनसँग मोलमोलाई नगर्ने बताउँदै उनले अभियानलाई सफल बनाउन आफू लागिपर्ने बताए । ‘फिस्कल क्लिफ’ नाम दिइएको आर्थिक संकट समाधानसम्बन्धी प्रस्तावमाथि सिनेटले भएको मतदानमा प्रस्तावका पक्षमा ८९ मत परेको थियो । विधेयकको विपक्षमा आठ मत परेको थियो । विधेयकले वित्तीय संकट टर्ने विश्वास गरिएको छ ।
विधेयकअनुसार प्रतिवर्ष चार लाख ५० हजार अमेरिकी डलरभन्दा बढी कमाउने व्यक्तिमाथि लागेको करमा केही वृद्धि हुनेछ । विधेयक पारित भएपछि वार्षिक चार लाख ५० हजार अमेरिकी डलरभन्दा बढी कमाउने व्यक्तिले ३९.६ प्रतिशत कर तिर्नुपर्ने हुन्छ । (एएफपी)

प्रतिक्रिया