‘इजरायलका कारण सिरियाली संकट गहिरियो’

तेहरान : इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिले इजरायलका कारण सिरियामा जारी संकटको कूटनीतिक समाधान खोज्न नसकिएको आरोप लगाएको छ । इजरायलको प्रभावमा परेर अमेरिका र यसका पश्चिमी साझेदार राष्ट्रले सिरियाली संकटको कूटनीतिक समाधान खोज्न अस्वीकार गरेकाले समस्या समाधान हुन नसकेको समितिका एक अधिकारीको ठहर छ ।
समिति प्रवक्ता सेयेद होसन नगाभी–होसेनीले आइतबार भने, ‘पश्चिमी राष्ट्र र त्यसमा पनि खासगरी अमेरिकाले सिरियामा कूटनीतिक समाधान चाहिरहेको छैन । इजरायलको प्रभावमा परेर उनीहरूले यसो गरेका हुन्,’ उनले भने । नरसंहार रोक्न कूटनीतिक समाधान खोजिनु अपरिहार्य भए पनि अमेरिकाले समाधान नचाहेको आरोप उनले लगाएका छन् ।
सिरियाली संकट समाधानका लागि इरानले अघि सारेको ६ बुँदे संयुक्त शान्तियोजना अमेरिकाका कारण तुहिएको उनले बताए । ‘सिरियामा इजरायलको स्वार्थ रक्षा गर्न र सिरियाको शान्ति तथा स्थिरताको आधार भत्काउन पश्चिमी राष्ट्रहरूले इरानले ल्याएको ६ बुँदे योजनाको विरोध गरे,’ उनले भने । डिसेम्बर १६ मा इरानले ल्याएको प्रस्तावमा अरब राष्ट्रमा भएका सबै सशस्त्र हिंसा सामूहिक रूपमा बन्द गर्नुपर्ने बुँदासमेत परेको थियो । साथै, प्रस्तावमा हिंसा रोकिएपछि सिरियामा मानवीय सहयोग उपलब्ध गराइनुपर्ने, सिरियामाथि लागेका सबै प्रतिबन्द खुला गर्नुपर्ने र विस्थापित सिरियाली नागरिकका लागि घर फिर्तीको
वातावरण निर्माण गर्नुपर्नेसमेत उल्लेख छन् ।
अमेरिका, युरोपेली महासंघ, अरब लिगसहित अन्तर्राष्ट्रिय समुदायले सिरियाली संकट समाधानका लागि सिरियाली राष्ट्रपति बसर अल असदलाई अविलम्ब सत्ता त्याग गर्नुपर्ने बताउँदै आएका छन् । तर, इरानले भने असदको समर्थन गर्दै आएको छ ।
यसमा इरानलाई रुस र चीनले समेत साथ दिइरहेका छन् । मध्यपूर्वमा इरान सिरियाका दरिलो साझेदार राष्ट्र हो । इरान सिया मुसलमान बहुल राष्ट्र हो र सिरियामा अल्पमतमा रहेका सियाले शासन गर्दै आएका छन् । दुवै राष्ट्रको इजरायलसँग ज्यादै तीक्त सम्बन्ध छ ।
इजरायलसहित पश्चिमी राष्ट्रले सिरियामा हमला गर्ने निहुँ खोजिरहेको आरोप इरानले लगाउँदै आएको छ । टर्की, सिरिया र समग्र क्षेत्रलाई यसमा अल्झाएर इस्लामिक पुनर्जागरणलाई ओझेलमा पार्ने षड्यन्त्र पश्चिमी राष्ट्रले रचेको इरानको भनाइ छ । सिरियाको भौगोलिक अखण्डता तथा सिरियाली सरकार र त्यहाँका जनताको हितका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको इरानले पटकपटक जनाइसकेको छ । (एजेन्सी)

प्रतिक्रिया