महिलाहिंसाप्रति आयोग चिन्तित

काठमाडौं, १६ पुस । राष्ट्रिय मानव अधिकार आयोगले महिला हिंसा अन्त्य गरी दोषीमाथि कानूनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
आयोगले आज विज्ञप्ति जारी गरेर देशमा केही समय यता एकपछि अर्को गरी महिलामाथि भएका हत्या, हिंसा एवम् दुव्र्यवहारका घटनाहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महिला हिंसाविरुद्ध १६ दिने अभियानकै हाराहारीमा देशमा श्रृंखलाबद्ध रूपमा महिला हिंसाका घटनाहरु बढ्नु र त्यसका लागि प्रतिरोधात्मक व्यवस्था प्रभावकारी नुहुनुले आयोगलाई दुःखी तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।
भोजपुर घर भएकी एक आप्रवासी कामदार युवतीसँग भएको नगद खोसिनु र त्यसपछि प्रहरीद्वारा बलात्कृत हुनुलगायत हिंसाका अन्य घट्नाका सम्बन्धमा सरकारी तहबाट भइराखेको कारबाहीको आयोगले नियमित अनुगमन र अनुसन्धान गरिरहेको जनाएको छ ।
बर्दियाकी शिवा हासमी, बाराकी विन्दु ठाकुर, धादिङकी सरस्वती सुवेदी तथा सर्लाहीकी ममता महतोको हत्या; एवम् दैलेखकी कावली सार्की, सिरहाकी पूजा शर्मामाथि भएका दुव्र्यवहारलगायत महिलामाथि भएका अपराधिक घट्नाबारे आयोगले पनि अनुगमन गरेको उल्लेख गरेको छ ।
लगभग १० महिनादेखि बेपत्ता काठमाडौंकी छोरीमैंया महर्जनको अवस्था अभैm अज्ञात रहेको सम्बन्धमा ठोस अनुसन्धान हुन नसकेको प्रति आयोगले चिन्ता जनाएको छ ।
‘महिलाको सुरक्षा, मर्यादा र बाँच्न पाउने अधिकारको हनन् भइरहेको छ,’ आयोगले भनेको छ, ‘महिलामाथि हुने अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुलाई कानूनको दायरामा ल्याई निष्पक्ष छानबिन गरी कारबाही गर्न, पीडित परिवारलाई राहत, क्षतिपूर्ति र परिपूरणको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ ।’
आयोगले महिलामाथि निरन्तर भइरहेको हत्या–हिंसाको घटना रोकथाम गर्न र समयमै उचित न्याय प्रदान गर्न द्रूत न्याय सम्पादन अदालत गठन गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया