सम्भोग गर्न नमान्दा…

दैलेख, १५ पुस । यौनसम्पर्क गर्न नमानेको झोकमा एक श्रीमान्ले श्रीमतीको योनांग जलाएका छन् । नारायण नगरपालिका–६ नमुना बस्तीका ती व्यक्तिले शुक्रबार राति श्रीमतीलाई जलाइरहेको अवस्थामा छिमेकीले उद्धार गरे ।

योनी आसपासको भागमा श्रीमान्ले अगुल्टो झोसेको पीडितले बताइन् । जलाउन थालेलगत्तै महिला र उनका छोराछोरीले छिमकीसँग गुहार मागेका थिए । ‘खाना पकाएर श्रीमान्लाई पर्खिरहेकी थिएँ, विनाकारण आगोको मुस्लो झोसिदिए,’ उनले भनिन्, ‘छिमेकीहरू नआएका भए सायद खरानी भइसक्थेँ होला ।’ सहवास गर्न नमानेपछि अगुल्टो झोसेको अनुमान छिमेकीले गरेका छन् । एक छिमेकीले भने, ‘जलेको भाग हेर्दा त्यस्तै देखिन्छ । अन्य भाग पोलिएको छैन । यो सुनियोजित रूपमा योनी जलाउने प्रयास हुनुपर्छ ।’
अहिले घाइतेको जिल्ला अस्पतालको इमरजेन्सी कक्षमा उपचार भइरहेको छ । जिल्ला अस्पतालका डाक्टर पुकार राणाले दायाँ तिघ्राको माथिल्लो भाग जलेको बताए । शीतल गराउने, दुखाइ कम गर्ने र रगतमा संक्रमण हुन नदिन एन्टिबायोटिक र इन्जेक्सन दिइएको डाक्टर राणाले जानकारी दिए ।
प्रहरीका अनुसार श्रीमान् र श्रीमती दुवैले मादकपदार्थ सेवन गरेका थिए । श्रीमान्लाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा उनले आफूले नजलाएको दाबी गरेका छन् । ‘सामान्य विवाद सधैँ हुन्थ्यो । चुल्होनजिक बसेकी उनको शरीरतिर अगुल्टो उछ्टिएको हो,’ उनको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक विनोद शर्माले भने । सदरमुकाममा हरेक दिन ज्याला मजदुरीबाट कमाएको पैसाले उनीहरूको दिनचर्या चल्ने गरेको छ । कमारो भारी बोक्नेदेखि बजारका शौचालय र ढलसमेत सरसफाइको काम गर्छन् । उनीहरूका तीन छोराछोरी छन् ।

प्रतिक्रिया