सशस्त्रको रासनमा ७१ करोड बढाएर ठेक्का

काठमाडौं, १२ पुस । सशस्त्र प्रहरीमा गत आर्थिक वर्षको तुलनामा सरदर ३० प्रतिशत बढी मूल्य राखी रासन ठेक्का स्वीकृत गरिएको छ । यसपटकको मूल्य गत आर्थिक वर्षको तुलनामा ७१ करोड ३४ लाख ११ हजार आठ सय २० रुपियाँले धेरै हो ।

मुलुकभर रहेका सशस्त्र प्रहरीको मुख्यालय हलचोकदेखि मुलुकभर रहेका गुल्म, गण, बाहिनीका लागि सम्बन्धित कार्यालयबाटै केही महिनाअघि रासन ठेक्काका लागि टेन्डर आह्वान भएको थियो । सशस्त्रका देशभरका ३६ वटा कार्यालयबाट आह्वान भएकोमा पाँच कार्यालयबाट आह्वान गरिएको रासन ठेक्का मात्रै गत आर्थिक वर्षको भन्दा कम मूल्यमा टेन्डर स्वीकृत गरिएको छ ।
पृष्ठ १ को बाँकी

सौर्यलाई प्राप्त तथ्यांकअनुसार सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा गत वर्ष प्रतिएक सशस्त्र प्रहरीका लागि प्रतिदिन ७०।७० रुपियाँमा रासन ठेक्का स्वीकृत भएको थियो । तर, यस वर्ष दर बढाएर ९८।२९ रुपियाँमा स्वीकृत गरिएको छ । यो मूल्य गत वर्षको तुलनामा २७।५९ रुपियाँले धेरै हो ।
सशस्त्र प्रहरी बल बराह बाहिनीमा एक सशस्त्र प्रहरीका लागि प्रतिदिन ९४।७८ रुपियाँ पर्ने गरी रासन टेन्डर स्वीकृत गरिएको छ । यो मूल्य गत वर्षको तुलनामा १७।७९ रुपियाँले धेरै हो । त्यसैगरी, सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैयामा एक सशस्त्र प्रहरीका लागि प्रतिदिन ९२।२८ रुपियाँ हुनेगरी ठेक्का स्वीकृत गरिएको छ । गत वर्षको तुलनामा यो मूल्य १२।६३ रुपियाँले धेरै हो । सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी सुर्खेतमा ९८।६४ रुपियाँमा रासन ठेक्का स्वीकृत गरिएको छ । गत वर्षको तुलनामा यो दर १८।२९ रुपियाँले धेरै हो । सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी अत्तरियामा १३३।४५ रुपियाँमा रासन ठेक्का स्वीकृत गरिएको छ । यो गत वर्षको तुलनामा २५।६२ रुपियाँले धेरै हो ।
सशस्त्र प्रहरी बल तालिम केन्द्र नौबस्तामा एक सशस्त्र प्रहरीका लागि १३८।२९ रुपियाँमा रासन ठेक्का स्वीकृत गरिएको छ । गत वर्षका तुलनामा यो ५९।२३ रुपियाँले धेरै हो । सशस्त्र प्रहरी बल पाथिभरा गण झापामा १०१।२९ रुपियाँमा रासन ठेक्का स्वीकृत गरिएको छ । यो गत वर्षको तुलनामा २१।२४ रुपियाँले धेरै हो । यसरी नै सशस्त्र प्रहरीका अन्य गण, बाहिनी तथा गुल्ममा गत वर्षको तुलनामा मूल्य बढाएर रासन स्वीकृत गरिएको छ ।
स्रोतका अनुसार स्वीकृत गरिएको रकम अनुमानित दरभन्दा झन्डै ३७ करोड रुपियाँले धेरै छ । स्रोतले भन्यो, ‘गत वर्षको भन्दा रासन दर बढाएर मूल्य स्वीकृत गर्नुका पछि सशस्त्र प्रहरीका माथिल्लो तहका कर्मचारीको मिलेमतो छ, उनीहरू यसैका आधारमा राज्यको ढुकुटी रित्याउन चाहन्छन् ।’ सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी नारायणबाबु पन्तले बजारभाउ अनुगमन गरेरै सम्बन्धित ठेक्का स्वीकृत गरिएको बताए ।
डिआइजी थापाले भने, ‘सम्बन्धित जिल्ला प्रशासन कार्यालयले बजारभाउ अनुगमन गरेर अनुमानित बजेट तोक्छ, त्यसकै आधारमा हामीले टेन्डर आह्वान गर्ने हो । स्वीकृत भएको रासन टेन्डर अनुमानित बजेटभन्दा धेरै छैन । गत वर्षको तुलनामा बजारभाउ बढेकाले रासन मूल्य त बढ्ने नै भयो नि ।’
तर, बजारभाउ गत आर्थिक वर्षको तुलनामा यति धेरै बढेको छैन । गत आर्थिक वर्षको तुलनामा रासनमा डाल्डा घिउको सट्टा डेरीको घिउ प्रयोग गरिएको, सब्जीमा पनि गत वर्षको तुलनामा केही परिमार्जन गरिएको बजेट बढ्न पुगेको सशस्त्र स्रोतको दाबी छ । डिआइजी थापा भन्छन्, ‘हप्तामा तीनपटक मासु खुवाउनुपर्ने हुन्छ । स्थानअनुसार पनि बजेट बढ्छ ।’

प्रतिक्रिया