विद्यालयमा प्रहरी राख्न सुझाव

वासिंगटन : अमेरिकाको विद्यालयमा एक व्यक्तिले चलाएको गोलीका कारण २० बालबालिकाको मृत्यु भएपछि बन्दुकका विषयमा सशक्त वकालत गर्ने समूह नेसनल राइफल एसोसिएसनले (एनआरए) प्रत्येक विद्यालयमा सशस्त्र प्रहरी तैनाथ गर्न सुझाव दिएको छ । कनेक्टिकटको एक प्राथमिक विद्यालयमा गत साता भएको आमहत्याका विषयमा प्रतिक्रिया दिन दबाब परेपछि यस समूहले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो । यस समूहले अमेरिकी संविधानमा रहेको हतियार राख्न पाउने अधिकारलाई विभिन्न तरिकाले व्याख्या गर्ने गरेको छ ।
न्युटाउन प्राथमिक विद्यालयमा आमहत्या मच्चिएपछि बन्दुकको खुलेआम बिक्रीमा प्रतिबन्ध लगाउन दबाब बढेको छ । बन्दुकको समर्थन गर्ने यस समूहले यस विषयमा आºनै तर्क राखेको छ । ‘बन्दुक लिएका एउटा खराब मानिसलाई बन्दुक बोकेको राम्रो मानिसले रोक्न सक्छ,’ एनआरएका उपाध्यक्ष वायन लापिएरले भने । उनले अमेरिकी संसद्लाई प्रत्येक विद्यालयमा सशस्त्र प्रहरी तैनाथ गर्न सकेसम्म प्रयास गर्न पनि आग्रह गरेका छन् । आमसञ्चार तथा राजनीतिक समूहले बन्दुकधनीको मनोबल गिराएको आरोपसमेत उनले लगाएका छन् ।
यसैबीच, अमेरिकी राष्ट्रपति बाराक ओबामाले घातक हतियारमाथि प्रतिबन्ध लगाउन प्रयास थालेका छन् । अमेरिकामा सन् १९८२ देखि हालसम्म ६२ वटा आमहत्याका घटना भएका छन् । यसले प्रत्येक अमेरिकी नागरिकले बन्दुक राखेको देखाउँछ । यसैगरी, अन्य मुलुकको तुलनामा अमेरिकामा बन्दुकबाट मर्न सकिने सम्भावना २० प्रतिशत अधिक रहेको देखिन्छ । (एएफपी)

प्रतिक्रिया