राष्ट्रपतिलाई भारत नजान कोइरालाको आग्रह

काठमाडौं, ८ पुस । कांग्रेस सभापति सुशील कोइरालाले राजनीतिक संकट समाधानपछि मात्र राष्ट्रपतिलाई भारत भ्रमणमा जान आग्रह गरेका छन् । केही दिन अझै देशको अवस्था संकटपूर्ण रहेको उल्लेख गर्दै उनले संकट समाधानपछि मात्र राष्ट्रपतिलाई भारत जान आग्रह गरेका हुन् ।

काठमाडौंको थलीमा शनिबार क्षेत्रीय सभापतिहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति कोइरालाले राष्ट्रपति भ्रमणमा जाँदा राम्रो सन्देश नजाने बताए । ‘राष्ट्रपति भारत जानुअघि नै संकट समाधान गर्नुपर्छ,’ कोइरालाले भने, ‘संकट समाधान नगरी विदेश जाँदा राम्रो सन्देश जाँदैन ।’
राष्ट्राध्यक्षको नाताले पनि दुई/तीन दिनमै निकासका लागि दबाब दिनु राष्ट्रपतिको जिम्मेवारी भएको कोइरालाले बताए । राजनीतिक सहमतिका लागि तयार नभए एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चालाई घाटा हुने उनको भनाइ थियो । ‘केही दिनमै सहमति नभए आन्दोलनमा जानुको विकल्प हुँदैन,’ उनले भने ।
वरिष्ठ नेता शेरबहादुर देउवाले चुनावअघि नै संविधानका विवादित विषयमा सहमति गर्नुपर्छ भन्दै एमाओवादीले दोहोरो कुरा गरेको आरोप लगाए । ‘संविधानका अन्तरवस्तुमा पहिले नै सहमति गर्ने हो भने नयाँ चुनाव नै आवश्यक पर्दैन,’ उनले भने । संविधानसभा पुन:स्थापना आºनो पहिलेको अडान भएको भन्दै देउवाले पुन:स्थापनाको विकल्प खोज्नुपर्नेमा जोड दिए । पार्टीे सभापति कोइरालालाई प्रधानमन्त्री बनाई चुनाव गराउनुको विकल्प नभएको उनको भनाइ थियो ।
उपसभापति रामचन्द्र पौडेलले एमाओवादीको भूमिका जिम्मेवारीपूर्ण नभएको आरोप लगाए । एमाओवादीमा अहिले देखिएको विवादलाई नौटंकीको संज्ञा दिँदै पौडेलले जिम्मेवार भएर प्रस्तुत हुन एमाओवादी र मधेसी मोर्चालाई आग्रह गरे । महामन्त्री कृष्णप्रसाद सिटौलाले कहिले उत्तर र कहिले दक्षिणको भर नपरी नेपाली जनताको भर पर्न एमाओवादीलाई आग्रह गरे । दलीय सहमतिका निम्ति सबै दलले सहमतीय राजनीति छाड्न नहुने उनको भनाइ थियो ।
अर्का महामन्त्री प्रकाशमान सिंहले गिरिजाप्रसाद कोइराला छँदै मुलुक संघीयतामा गइसकेको उल्लेख गर्दै कांग्रेसलाई संघीयताविरोधी दलका रूपमा चित्रित गर्न नहुने बताए । सरकारको नेतृत्व गर्न एमाओवादीले सर्त राख्नु कुनै पनि हालतमा उचित नभएको उनको भनाइ थियो । कोषाध्यक्ष चित्रलेखा यादव, नेता रामशरण महत, विमलेन्द्र निधि, सुजाता कोइरालासहितले भेलालाई सम्बोधन गरेका थिए ।
सभापतिहरूलाई राज्य पुन:संरचना, नयाँ चुनाव, शासकीय स्वरूप, राजनीतिक र सांगठनिक विषय र कांग्रेससको नीति तथा कार्यक्रसहितका विषयमा प्रशिक्षण दिइने जनाइएको छ । भेलामा रामशरण महत, चिरञ्जीवी नेपाल, धनराज गुरुङसहितले प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया