म र अध्यक्षबीच मतभेद छैनः प्रधानमन्त्री

काठमाडौं, ५ पुस । प्रधानमन्त्री समेत रहेका एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले बाहिर चर्चामा आएजस्तो आफू र अध्यक्ष पुष्पकमल दाहालबीच कुनै मतभेद नभएको दाबी गरेका छन् ।
बालुवाटारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले एमाओवादीभित्र एकता र संघर्ष दुबै चलिरहने बताए । तत्काल पदबाट राजीनामा नदिने दोहराएका प्रधानमन्त्री भट्टराईले संविधानसभा चुनावको सुनिश्चितता भएमा मात्र राजीनामा दिने बताए ।
‘बिना सहमति राजीनामा दिंदैन,’ उनले भने, ‘सनक र आवेगमा राजीनामा दिने कुरै आउँदैन ।’
‘पुसभित्र निर्वाचन प्रक्रिया सम्पन्न गरी सहमति जुटाएर वैशाखमा निर्वाचन गर्नुपर्छ,’ उनले भने, ‘निर्वाचनको कुरा मेरो सफलता र असफलतासँग जोडिएको छ ।’
एमाओवादीले आफूलाई फिर्ता बोलाउने कुनै निर्णय नगरेको उनले दाबी गरे । ‘पार्टीले मलाई फिर्ता बोलाउने निर्णय गर्ने सम्भावना म देख्दिन,’ भट्टराईको भनाई छ ।

प्रतिक्रिया