मरेकोलाई बोलावट

अहमदाबाद : मृतकको आत्मालाई बोलाएको प्रसंग भूतप्रेतका कथामा प्रशस्त सुन्न पाइन्छन् । तर, भारतको एक महानगर अदालतले मृत्यु भइसकेका मानिसलाई अदालतमा उपस्थित हुने आदेश दिएर जग हसाउने काम गरेको छ ।
भारतीय राज्य गुजरातको राजधानी अहमदाबादस्थित महानगर अदालतले घरेलु हिंसासम्बन्धी मुद्दामाथि सुनुवाइका लागि मृतकलाई बोलाएको हो । घरेलु हिंसामा मुछिएका व्यक्तिको सट्टा गल्तीले उनका मृतक बाबुलाई अदालतले बोलाएको हो ।
मुद्दा हेरिरहेका अधिवक्ता गुलाम सबिरका अनुसार निलोफर बानु नाम गरेकी युवतीले आफू घरेलु हिंसाको शिकार भएको भन्दै मुद्दा दायर गरेकी थिइन् । मुद्दामा उनले पति मोहम्मद हनिफ मोहम्मद हुसेन तिक्डिवालासहित जेठाजु मोहम्मद सलिम र जेठानीलाई दोषी किटान गरेकी थिइन् । तीन वर्षअघि हनिफसँग विवाह गरेकी बानुमाथि घरका मानिसले हिंसा गरेपछि माइती फर्किएर उनले मुद्दा दायर गरेकी थिइन् ।
मुद्दा दर्ता भएपछि अदालतले बानुका पति, ससुरा मोहम्मद हुसेन र सासूलाई नोभेम्बर २७ का दिन अदालतमा हाजिर हुन आदेश दिएको थियो । तर, अदालतको आदेशबमोजिम मोहम्मद हुसेन उर्फ भोलाभाइ तिक्डिवाला अदालतमा उपस्थित नभएपछि अदालतले उनको खोजबिन गरेको थियो । मुद्दा हेर्ने अधिवक्ताले छोराबुहारीको विवाहभन्दा धेरै अगाडि हुसेनको निधन भएको जानकारी दिएपछि अदालतका अधिकारी जिल्ल परेका थिए ।
आदेश पुर्जीमा बानुका जेठाजु मोहम्मद सलिमको सट्टा ससुरा मोहम्मद हुसेनको नाम झुक्किएर पर्न गएको बताएर अदालतका अधिकारीले चोखिने प्रयास गरेका थिए । भुल सुधार गर्दै अदालतले जनवरी ९ मा अदालतमा हाजिर हुन बानुका पतिसहित जेठाजु मोहम्मद सलिमका नाममा अर्को आदेश जारी गरेको छ । (एजेन्सी)

प्रतिक्रिया