“ध्रुवे” मार्न पोथी हात्तीको सहारा

चितवन, ५ पुस । १० जनाभन्दा बढीको ज्यान लिइसकेको चितवनको धु्रवे नामक हात्ती मार्ने प्रयास बुधबार अबेरसम्म पनि सफल हुन सकेन ।

माडीका बासिन्दाको दबाबपछि ३६ जनाभन्दा बढी नेपाली सेनाको टोली र निकुञ्जका १५ जनाको विशेषज्ञ टोली हात्ती मार्न खटिए पनि हात्ती नियन्त्रणमा आउन नसकेको चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज प्रमुख संरक्षण अधिकृत झमकबहादुर कार्कीले बुधबार पश्चिमी क्षेत्रको भिम्ले पोस्टनजिकै हात्तीको संकेत भेटिए पनि फायरिङ रेन्जभन्दा बाहिर रहेकाले नियन्त्रणमा लिई मार्न नसकिएको बताए । ध्रुवे भाले हात्ती भएकाले त्यसलाई लोभ्याउन पश्चिमी क्षेत्रको टाइगटर टप्स र पूर्वीक्षेत्रका विभिन्न ठाउँमा पोथी हात्ती पनि राखिएको छ ।

पीडितको आन्दोलनमा दलहरूको साथ
हात्ती मार्न दबाबस्वरूप चितवनका स्थानीय राजनीतिक दलको समेत सहभागितामा बुधबार चार घन्टा चितवन बन्द गरिएको छ । बन्दका कारण चितवन भएर यात्रा गर्ने हजारौँ यात्रु र सर्वसाधारणले सास्ती बेहोर्नुपरेको थियो । बन्दका क्रममा चितवनको मुख्य सडकमा आन्दोलनकारीले मोटरसाइकल, साइकलजस्ता सवारीलाई डोहोर्‍याएर हिँड्न लगाएका थिए ।
माडी क्षेत्रको गर्दी गाविसको द्रौपति नगरमा धु्रवे नामक जंगली हात्तीले स्थानीय बुद्धिराम र जरिया बोटे दम्पतीलाई मारेपछि हात्ती मार्न दबाबका लागि चितवन बन्द गरिएको हो । स्थानीय प्रशासनले हात्ती मार्न उदासीनता देखाएकाले जिल्ला बन्द गरिएको नेताहरूले बताए ।
निकुञ्जमा धेरै वन्यजन्तु संरक्षित वन्यजन्तुका रूपमा करोडौँ रकम खर्च गरी राखिएका छन् । हात्ती संरक्षणमा ठूलो रकम र जनशक्ति खर्च गरेको सरकार नै हात्ती मार्न सक्रिय रहेको भन्दै केही स्थानीयवासीले असन्तुष्टिसमेत व्यक्त गरेका छन् । विगत एक दशकदेखि वन्यजन्तुको क्षेत्रमा सक्रिय रहेको नेचर गाइड जितबहादुर तामाङले हात्ती मार्नुभन्दा पनि सुरक्षाको व्यवस्था मजबुत बनाउनुपर्ने बताए ।
निकुञ्ज प्रमुख कार्कीले भने उक्त हात्ती हिंस्रक रूपमा प्रस्तुत हुँदै गएपछि बाध्य भएर मार्ने निर्णय कार्यान्वयनमा लगेको बताए । ‘के गर्नु यत्रो मानवीय क्षति भयो, शव अहिलेसम्म पनि उठेको छैन, जनताको आन्दोलनले हामी बाध्य छौँ,’ कार्कीले भने ।
चितवनका सिडिओ हिमनाथ दवाडीले हात्ती हिस्रंक बनेपछि मार्नुको विकल्प नभएको प्रतिक्रिया दिए । माडीवासीसँगै यहाँका राजनीतिक दलहरूको व्यापक दबाबपछि निकुञ्जलाई पत्र काटेर हात्ती मार्न निर्देशन दिइएको थियो ।

सबै माग पूरा भए शव उठ्ने
हात्ती मार्नुपर्नेलागायत माग राखी आन्दोलित माडीवासी संघर्ष समितिले जिल्लास्तरीय सर्वपक्षीय बैठकले गरेको निर्णय स्पष्ट नभएकाले तत्काल आन्दोलन फिर्ता नलिने जनाएको छ ।
सर्वपक्षीय बैठकले गरेको निर्णयपछि सबै राहत रकम तत्काल उपलब्ध गराउने सम्भावना नभएको, पीडित परिवारलाई दिने रोजगारी कहिले उपलब्ध गराउने भन्ने नतोकिएका कारण यस्तो निर्णय लिइएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका सदस्य श्याम विष्टले आन्दोलन अगाडि बढाउने वा फिर्ता लिने भन्ने निर्णय सबै माग पूरा भएपछि गरिने बताए । संघर्ष समितिमा रहेका स्थानीय राजनीतिक दलका नेताले जिल्लास्तरीय नेतासँग प्रत्यक्ष भेट गरी निर्णयबारे प्रस्ट भएपछि बिहीबार बिहान संघर्ष समितिको बैठक बस्ने उनले जानकारी दिए ।
बिहीबारको बैठकपछि मात्रै अन्तिम संस्कार गर्ने निर्णय गरिएको उनले बताए । हात्तीले शनिबार राति ११ बजे मारेका ६५ वर्षीय बुद्धिराम बोटे र ६० वर्षीय जरिया बोटेको शवको अन्तिम संस्कार नगरी आन्दोलन थालिएपछि चौथो दिन पनि उनीहरूको शव गर्दी गाविसको चौतारोमा राखिएको छ ।

मृतकका परिवारलाई ६ लाख राहत
ध्रुबे नामक हात्तीको आक्रमणबाट ज्यान गुमाएका बुद्धिराम र जरिया बोटेका परिवारलाई ६ लाख रुपियाँ राहत उपलब्ध गराइने भएको छ ।
उक्त हात्ती मार्न जनदबाब परेपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले बुधबार सम्भावित जोखिम अन्त्य गर्न यस्तो निर्णय गरेको हो । सर्वक्षीय बैठकले तत्काल ६ लाख उपलब्ध गराउने र मृतकका परिवारका एक जनालाई निकुञ्जमा जागिर दिने निर्णय गरेको निकुञ्ज प्रमुख कार्कीले जानकारी दिए ।
थप क्षतिपूर्तिका लागि सरकारलाई सिफारिस गर्ने निर्णय पनि भएको कार्कीले उल्लेख गरे । बैठकमा जिल्ला प्रशासन कार्यालय चितवन, निकुञ्ज प्रशासन, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुखलगायतको सहभागिता थियो ।

प्रतिक्रिया