रुसी युद्धपोत सिरियातर्फ

मस्को : सिरियामा विद्रोहीहरूको प्रभाव विस्तार तीव्र भएको विश्लेषण गर्न थालिएका बेला रुसले सिरियातर्फ युद्धपोत पठाएको छ । सिरियामा रहेका रुसी नागरिकको उद्दार गर्ने उद्देश्यले मध्यपूर्वलाई अफ्रिकासँग जोड्ने भूमध्यसागरतर्फ रुसले आफ्ना युद्धपोत पठाएको रोयटर्सले बिहीबार जनाएको छ ।
रुसको नौसैनिक स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार दुई युद्धपोत, एक ट्यांकर र रक्षक पोत सोमबार भूमध्यसागरतर्फ प्रस्थान गरेका छन् । ‘रुसमा रुसी नागरिकको सम्भावित उद्धारमा सघाउन ती युद्धपोत सिरियाली तटतर्फ हिँडेका हुन्,’ समाचारमा भनिएको छ ।
सिरियाली सत्ता पराजित हुनसक्ने भनाइ राखेको केही दिन पछि रुसले आफ्ना नागरिकको उद्धारका लागि सिरियातर्फ युद्धपोत पठाएको घटनालाई अर्थपूर्ण रूपमा लिएको छ । सिरियाली राष्ट्रपति बसर अल असदको दरिलो साझेदार रहेको रुसले सिरियाली सत्ताको पराजय हुनसक्ने भनाइ राखेपछि सिरियामा विद्रोहीहरूको विजय हुने सम्भावना बढेको लख काटिएको छ । गत साता विद्रोहीहरूले सिरियाको उत्तरपश्चिम तथा पूर्वी क्षेत्रको ठूलो भू–भागमा आफ्नो नियन्त्रण कायम गरेपछि रुसी उपविदेशमन्त्री मिखाइल बोग्दानोभले सिरियाली सरकार विद्रोहीबाट पराजित हुनसक्ने बताएका हुन् ।
सिरियाली सरकारले मुलुकको ठूलो क्षेत्रमा आफ्नो नियन्त्रण गुमाएको उल्लेख गर्दै उनले अमेरिका तथा अन्य मुलुकले मान्यता दिँदा प्रतिपक्षीहरू बलियो भएको बताएका थिए । त्यसअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियाको विपक्षी परिषद्लाई सिरियाली जनताको वास्तविक प्रतिनिधीको मान्यता दिने घोषणा गरेका थिए । रुसले आफ्ना नागरिकको उद्धारका लागि सिरियातर्फ युद्धपोत पठाएपछि सिरियाली सत्ताको पतन आसन्न रहेको निष्कर्षमा रुस पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
यसअघि रुसले सिरियाली सरकारको पतन स्विकार्य नहुने जनाउँदै आएको थियो । अमेरिका, टर्की, साउदी अरबलगायत मुलुकले सिरियाविरुद्ध सैन्य कारबाही गर्नुपर्ने बताएका बेला रुसले त्यसको विरोध गरेको थियो ।
विगत चार दशकदेखी सिरियामा सैन्य सामाग्री आपूर्ति गर्दै आएको रुसले गत जेठ महिनामा हतियारले भरिएका पानीजहाज सिरिया पठाएको समाचार सार्वजनिक भएको थियो । तर, अब विद्रोहीको प्रतिरोध गर्न सिरियाली सरकार असक्षम बनेको निष्कर्षसहित रुसले आफ्ना नागरिकहरूको उद्धारप्रति सक्रियता देखाउन थालेको विश्लेषण गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया