पाकिस्तानमा पोलियो कार्यकर्ताको हत्या

कराँची : पाकिस्तानको बन्दरगाहयुक्त नगर कराची तथा उत्तरपश्चिमी नगर पेसावरमा मंगलबार मोटरसाइकलमा आएका बन्दुकधारीले पाँच पोलियो खोप कार्यकर्ताको हत्या गरेका छन् । कराचीमा विभिन्न तीन घटनामा चार महिला पोलियो कार्यकर्ताको मृत्युभएको हो भने पाँचौ मृत्यु पेसावरमा भएको हो ।
मोटर साइकलमा आएर दुई बन्दुकधारीले खोप दिइरहेका दुई महिला कार्यकर्तामाथि गोली प्रहार गरेका थिए । पाकिस्तानमा मुलुकभर तीन दिने पोलियोविरुद्ध खोप कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रमको दोस्रो दिन मंगलबार उनीहरूको हत्या भएको हो । पाकिस्तानमा पोलियो अझै संक्रमणकारी रोगको रूपमा रहेको छ । सिन्ध प्रान्तका स्वास्थ्यमन्त्री सागीर अहमदले गोलीकाण्डका कारण आफूले पोलियो खोप कार्यक्रम रोक्न आदेश दिएको बताएका छन् । पेसावर तनावग्रस्त आदिवासी क्षेत्र नजिकै पर्छ र यो चरमपन्थी र पोलियो रोग दुवैको प्रभाव इलाका मानिन्छ ।
अमेरिकी गुप्तचर एजेन्सी सिआइएले हेपाटाइटिसविरुद्ध खोप कार्यक्रमका माध्यमबाट ओसामा बिन लादेन लुकेको स्थान पत्ता लगाएपछि तालिवानले उत्तपूर्वी भागमा खोप कार्यक्रममाथि प्रतिबन्ध लगाएको छ ।
हेपाटाइटिसविरुद्ध खोप कार्यक्रममा संलग्न चिकित्सकलाई देशद्रोहको अभियोगमा पाकिस्तानमा कारावासको सजाय दिइएको छ । (एएफपी)

प्रतिक्रिया