“पाकिस्तान फेरि टुक्रिन सक्छ”

इस्लामावाद : पाकिस्तानलाई परमाणु सम्पन्न राष्ट्र बनाउने श्रेय पाएका वैज्ञानिक अब्दुल कादिर खानले पाकिस्तान पुन: टुक्रिनसक्ने चेतावनी दिएका छन् । सन् १९७१ मा पाकिस्तानबाट बंगलादेश टुक्रँदाखेरीको भन्दा अहिलेको अवस्था ज्यादै गम्भीर भएको जिकिर गर्दै उनले अवस्थामा अविलम्ब सुधार नगरिए पाकिस्तानको विखण्डननिकट रहेको चेतावनी दिएका छन् । विखण्डन रोक्न विदेशी युद्धबाट अलग्गै बसेर मुलुकभित्र सुव्यवस्था पुनर्बहाली गर्नुपर्ने उपाय उनले सुझाएका छन् ।
‘सन् १९७१ मा भन्दा अहिले पाकिस्तानको अवस्था खराब छ,’ इभेन्ट्स अफ १९७१ नामक आफ्नो पछिल्लो लेखमा वैज्ञानिक खानले लेखेका छन्, ‘१९७१ मा त्यस्तो दु:खदायी घटना किन घट्यो भन्नेबारे लाखौँ पाकिस्तानी पूर्णरूपमा जानकार छन् । तर, त्यति भयानक क्षति व्यहोरे पनि पछि हाम्रा नेता र संस्थापन बेपर्वाह देखिएका छन् ।’
बंगलादेश टुक्रिनुपूर्वको घटना सम्झँदै खानले भनेका छन्, ‘सन् १९७१ मा जनरल याह्या खानले पूर्वीपाकिस्तानका विद्रोहीलाई दबाउन जनरल टीका खानलाई त्यसतर्फ पठाए । हाम्रो आºनै सेनाले हाम्रा आºनै मान्छेको हत्या गरेको हामीले देख्नुपर्‍यो । त्यतिबेला म बेल्जियममा थिएँ । मुस्लिमले मुस्लिममाथि, पाकिस्तानीले पाकिस्तानीमाथि गरेको बर्बरताका
कारण म लज्जित भएको थिएँ ।’
अहिलेको अवस्था त्यतिबेलाकोसँग मिल्दोजुल्दो रहेको दाबी गर्दै उनले थपेका छन्, ‘अहिलेजस्तै त्यतिबेला पनि आफ्ना विरोधीलाई दबाएर खत्तम गर्न सकिन्छ भन्ने भ्रममा शासक र संस्थापन थियो ।’ अमेरिकाले आरम्भ गरेको आतंकवादविरुद्धको युद्धमा पाकिस्तानको संलग्ताप्रति घुमाउरो पारामा उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
‘हामीले भाडाका टट्टुको भन्दा गतिलो हैसियत बनाउन सकेका छैनौँ । फगत कागजका खोस्टा (पैसा)का लागि हामी आºनैलाई मारिरहेका छौँ । हामीले हाम्रो सीमा र सार्वभौमिकताको रक्षा कसरी गर्ने भन्ने बिर्सिसकेका छौँ ।’ विरोधीलाई दबाएर नाश गर्न सकिन्छ भन्ने भ्रम राजनीतिक र सैन्य दुवै नेतृत्वमा रहेको दाबी गर्दै उनले भनेका छन्, ‘यस्तै अवस्था जारी रहने हो भने वर्षसम्म युद्ध जारी रहनेछ र मुलुक धुजा–धुजा हुनेछ ।’
वैज्ञानिक खानलाई सन् २००४ मा नजरबन्दमा राखिएको थियो । इरान, लिबिया र उत्तर कोरियालाई परमाणु हतियार निर्माणसम्बन्धी गोप्य सूचना दिएको दाबी उनले गरेपछि उनलाई नजरबन्दमा राखिएको थियो । तर, पूर्वराष्ट्रपति परवेज मुसर्रफको दबाबका कारण आफूले त्यस्तो भनाइ राखेको उनले बताएपछि उनलाई नजरबन्द मुक्त गरिएको थियो । (एजेन्सी)

प्रतिक्रिया