जापानका कन्जरभेटिभ सत्तामा

टोकियो : जापानमा आइतबार भएको निर्वाचनमा कन्जरभेटिभ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) विजयी भएको छ । अर्थतन्त्रमा सुधार गर्ने र चीनसँग क्षेत्रीय विवाद मिलाउने विषयमा डिल गर्दा ‘कडा नीति’ लिने संकल्प गरेको एलडिपी सरकारमा पुगेपछि जापानी लगानीकर्ताहरू खुसी भएका छन् ।
एलडिपीबाट नयाँ प्रधानमन्त्रीमा मनोनीत हुने नेता सिन्जो आबेले चीनसँग विवादमा रहेका ‘इस्ट चाइना सी’का टापुमाथि जापानको सार्वभौमसत्ता रहेको र उक्त जलक्षेत्रलाई जापानको अविच्छिन्न भाग बताएर चीनसँग कडा नीति लिने छनक दिएका छन् । यसअघि समेत प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका आवेले मन्द भएको जापानको अर्थतन्त्रलाई पुन: आºनो मार्गमा फर्काउने बताएका छन् । जापानी मुद्रा येनमा समस्या आएका कारण अहिले जापानी लगानी घटेको बताइन्छ ।
विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापान अहिले मन्दीमा फसेको छ । अर्थतन्त्र सुधार प्रक्रिया अघि बढाउन ‘बैंक अफ जापान’लाई दबाब दिने वचन उनले दिएका छन् । जापानको केन्द्रीय बैंकको बैठक यसै साता बस्ने भएकाले बैंकले अर्थतन्त्र सुधार प्रक्रिया अघि बढाउने हो वा होइन भन्नेमा सबैको ध्यान गएको छ ।
प्रधानमन्त्री योसिहिको नोदाको डेमोक्रयाटिक पार्टी अफ जापान (डिपिजे) तीन वर्षअगाडि परिवर्तनको वचनसाथ सत्तामा पुगेको थियो । तर, यसपटकको निर्वाचनमा एलडिपी तथा उसका सहयोगी गठबन्धन ‘न्यु कोमेइतो’ले संसद्को तल्लो सदनमा आकर्षक बहुमत प्राप्त गरेको छ । (एएफपी)

प्रतिक्रिया