नयाँ अमेरिकी विदेशमन्त्रीमा केरी

वासिंगटन : अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिनेटर जोन केरीलाई विदेशमन्त्री बनाउने निश्चय गरेका छन् । हिलारी क्लिन्टनको स्थानमा केरीलाई ल्याउने निश्चय राष्ट्रपति ओबामाले गरिसकेको सिएनएन र एबिसीले दाबी गरेका छन् ।
सिएनएनले डेमोक्रयाटिक पार्टीसम्बद्ध स्रोतलाई उद्धृत गर्दै यससम्बन्धी समाचार दिएको हो । यद्यपि, यस विषयमा ह्वाइट हाउसले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।
सिनेटर केरी सन् २००४ मा भएको राष्ट्रपति पदको निर्वाचनमा पराजित भएका थिए । उनी अमेरिकी सिनेटको विदेश मामिला समितिका अध्यक्ष पनि हुन् ।
बिहीबार संयुक्त राष्ट्र संघका लागि राष्ट्रपति ओबामाका दूत सुसान राइसले विदेशमन्त्री पदका लागि आफ्नो दाबी फिर्ता लिएका थिए । यसले सिनेटर केरीलाई उक्त पदको प्रमुख दाबेदार बनाएको छ । सेप्टेम्बर ११ मा लिबियास्थित अमेरिकी नियोगमा भएको आक्रमणका विषयमा विवादास्पद भनाइ दिएका कारण राइस आलोचनामा परेका थिए । केही रिपब्लिकन सांसद्ले उनलाई विदेशमन्त्री पदमा मनोनयन गरिए विरोध जनाउने जनाएपछि केरीको दाबेदारी प्रबल भएको थियो । (एएफपी)

प्रतिक्रिया