शताब्दीपछि छोरी जन्मिँदा

नेपालमा थुप्रै मान्छे सकेसम्म छोरीभन्दा छोरा नै जन्माउन चाहन्छन् । छोरी भएको पत्तो पाएपछि गर्भ तुहाउनेसम्मका क्रियाकलापमा उत्रिन्छन् अभिभावक । तर, ब्रिटेनको एक परिवार भने छोरी जन्मिएकोमा ठूलै उत्सव मनाइरहेको छ । हुन पनि सो परिवारले शताब्दीयौँसम्म छोरीको अनुहार देख्न पाएन । सन् १९०९ देखि १०३ वर्षको अन्तरालमा एउटी पनि नारी नजन्मिएपछि बेलायतको साउथ वेस्ट वेल्सनिवासी वेनकिन्स परिवार छोरी पाउन निकै तड्पिएको थियो । भर्खरै मात्र जन्मिएकी छोरीले उनीहरूको परिवारभरि खुसी छरिदिएकी छन् ।
एक साताअघि साढे तीन किलोभन्दा बढी तौलको शरीर लिएर धर्ती टेकेकी ती सानी नानीको नाम हो, अवेन विनिथ जेनकिन्स ।
‘परिवारमा एउटी बच्चीको जन्म कति दुर्लभ रहेछ, त्यो हामीले मात्र बुझेका छौँ,’ जेनकिन्स परिवारले भन्ने गरेको छ । बच्चीका पिताले भनेका छन्, ‘हाम्रा लागि छोरी जन्मिनु अद्भुत कुरा भएको छ, साँच्चै मेरी छोरी सानदार छिन्, रातभरि आरामले निदाउँछिन्, आफ्नो दाजुभन्दा कैयौँ गुणा राम्री छिन् ।’ यसअघि छोरीका नाममा सन् १९०९ मा आफ्नी फुपू सारा आलवेन मात्र जन्मिएको स्मरण गर्दै हजुरबुबा हावेल जेन्सनले भने– ‘त्यसपछि मेरा बुबा, काका सबैको परिवारमा छोरा मात्रै जन्मिए । तर, अहिले मेरै छोरालाई छोरी प्राप्त भयो । नातिनीलाई आफ्नै हातमा खेलाउन पाउँदा हामी बूढाबूढी धन्य भएका छौँ ।’

प्रतिक्रिया