विपक्षीका पक्षमा नांगो प्रदर्शन

किभ: युक्रेनमा बुधबार संसद्को नयाँ सत्र सुरु मात्रै के भएको थियो, बबन्डर भइहाल्यो । संसद् भवनभित्र मुक्का हानाहान गरेर बबन्डर मच्चाए भने भवनबाहिर माइनस तीन डिग्री सेल्सियस जाडोमा एक हुल युवतीले नांगो छाती पिट्दै सरकारविरुद्ध नाराबाजी गरे ।
संसदीय अधिकारीहरूको निर्वाचनसम्बन्धमा संसद्भवनभित्र विवाद यति चर्कियो कि त्यहाँ हात हालाहालको अवस्था सिर्जना भयो । मुक्का हानाहान र कोट तानातानको क्रम नरोकिएपछि संसदीय मर्यादा उल्लंघन गरेको आरोपमा केही सांसदलाई भवनबाहिर निकाल्नुपर्ने अवस्था सिर्जना भयो ।
संसद्मा यस्तो बबाल भएका बेला भवनबाहिर महिला अधिकारवादी समूह ‘फेमिन’मा आबद्ध एक हुल महिला कठ्यांग्रिने जाडोमा नांगै होहल्ला गरिरहेका थिए । कालो पेन्टि, मोजा र जुत्ता लगाएर सरकारको आलोचना गरिरहेका उनीहरूले शरीरको माथिल्लो भागलाई उदारतापूर्वक उदांगै छोडेका थिए ।
विपक्षी नेतृ युलिया ताइमोसेन्कोको रिहाइ माग गर्दै फेमिनमा आबद्ध महिलाले नांगो प्रदर्शन गरेका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेकी ताइमोसेन्को मुख्य विपक्षी पार्टी अल–युक्रेनियन युनियनकी नेतृ पनि हुन् । भ्रस्टाचारलगायत विभिन्न आरोपमा हाल उनी जेल जीवन बिताइरहेकी छिन् । तर, उनको दल, फेमिनलगायत विभिन्न संघसंस्थाले भने उनी निर्दोष रहेको जिकिर गर्दै र उनको रिहाइका पक्षमा आवाज उठाउँदै आएका छन् ।
सोमबारको प्रदर्शनमा सहभागीले ‘हामी आयौँ, नांगीयौँ र जित्यौँ’ लाई आफ्नो आदर्श वाक्य बनाएका थिए । यसरी नांगो जुलुसमा सहभागी भएर उनीहरूले के जिते, त्यसको लेखाजोखा त गरिएको छैन । तर, उनीहरूले विश्वभरका सञ्चारमाध्यमको मन जितेको तथ्य भने सो घटनाको ‘कभरेज’का लागि विश्वभरका सञ्चारमाध्यमले खर्चिएको स्थानले प्रष्ट पारेको छ । केही बेरको प्रदर्शनपछि सबै नांगा महिलालाई प्रहरीले पक्राउ गरेको थियो । (डेलिमेल)

प्रतिक्रिया