पूर्वथाइ प्रधानमन्त्रीलाई ज्यान मुद्दा

बैंकक : थाइल्यान्डका पूर्वप्रधानमन्त्री अभिजित भेज्जाजिभामाथि ज्यान मारेको आरोपमा मुद्दा दायर गरिएको छ । दुई वर्षअघि थाइल्यान्डको राजधानी बैंककमा ‘राता पोसाकधारी’हरूले सरकारविरुद्ध प्रदर्शन गरेका बेला भेज्जाजिभाका सुरक्षा अधिकारीको गोली प्रहारबाट एक ट्याक्सी ड्राइभर मारिएकाले ती ड्राइभरको मृत्युका लागि पूर्वप्रधानमन्त्रीलाई जिम्मेवार ठहराउँदै उनीविरुद्ध ज्यान मुद्दा दायर गरिएको हो ।
सन् २०१० मा देशका विभिन्न भागबाट आएका ‘राता पोसाकधारी’हरूले महिनौँसम्म बैंककको सडक कब्जा गरी तत्कालीन प्रधानमन्त्री भेज्जाजिभा नेतृत्वको सरकार ढाल्न खोजेका थिए । पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थक मानिएका ‘राता पोसाकधारी’हरूले थालेको आन्दोलनले बैंककको जीवन अस्तव्यस्त बनाए पनि भेज्जाजिभाले राजीनामा दिन अस्वीकार गरेका थिए । बरु, आन्दोलन दमन गर्न उनले सशस्त्र बललाई ‘राता पोसाकधारी’माथि गोली प्रहार गर्ने आदेश दिएका थिए । झडपका क्रममा ९० जनाको मृत्यु भएको थियो भने १९ सयभन्दा बढी घाइते भएका थिए । तसर्थ, ‘राता पोसाककारी’हरूले आफ्ना सहयात्रीको हत्याका लागि समेत भेज्जाजिभालाई दोषी ठहराउने गरेका छन् ।
अहिले थाइल्यान्डमा ‘राता पोसाकधारी’हरूको समर्थन प्राप्त यिंगलक सिनावात्रा नेतृत्वको सरकार छ । प्रधानमन्त्री यिंगलक पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी बहिनी समेत हुन् ।
भेज्जाजिभासहित उनी नेतृत्वको सरकारका उपप्रधानमन्त्री सुथेप साउथवानमाथि पनि मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध बैंककको विशेष अनुसन्धान विभागमा बिहीबार आरोपपत्र दायर गरिएको छ । आफूमाथि लागेको आरोप राजनीतिबाट प्रेरित रहेको प्रतिक्रिया भेज्जाजिभाको छ । लाखौँ व्यक्ति सडकमा उत्रिएकाले स्थिति नियन्त्रणमा लिन सरकारले बाध्य भएर बल प्रयोग गर्नुपरेको र यसका लागि आफूलाई दोष दिन नपाइने उनको भनाइ छ । (एएफपी)

प्रतिक्रिया