महाविनाश भुल्दै जापान

तोहोकु क्षेत्र (जापान), २७ मंसिर । डेढ वर्षअघि जापानको उत्तर–पूर्वी क्षेत्रमा गएको सुनामीले तोहोकुको मियागीमा १० हजारभन्दा बढीको ज्यान लियो । एक हजार तीन सय जना अझै हराइरहेका छन् भने सुनामीका कारण करिब ९२ खर्ब येन क्षति भएको छ । तर, सुनामी प्रभावित क्षेत्रमा फोहोरका थुप्राबाहेक उक्त महाविपत्ति सम्झाउने कुनै निसाना देखिँदैन । यहाँ सुनामी आउनुअघिका भन्दा राम्रा र मजबुत संरचना बनेका छन् । कोही पनि महाविपत्ति सम्झेर दु:खमनाउ गरिरहेका छैनन् । बरु त्यसले नयाँ पाठ सिकाएको बताउँछन् । ‘सुनामीले नर्कजस्तो बनाएको इसिनोमाकी, मियागी र सिन्डेई सम्झेर हामी दु:खी छैनौँ,’ इसिनोमाकीका कुनियो सुनो भन्छन्, ‘सुनामीपछि हामीले हाम्रा संरचना कमजोर रहेकाले अझै बलियो बनाउनुपर्ने पाठ सिक्यौँ ।’
यसै पाठअनुरूप पुनर्निर्माण गरिएको इसिनोमाकी फिस मार्केट पहिलेको भन्दा राम्रो र व्यवस्थित बनेको उनले बताए । समुद्र तटको फिस मार्केटमा सुनामीअघि प्रतिवर्ष १० देखि २० हजार टन माछा बिक्री हुन्थ्यो । त्यहाँको व्यापारमा पुरानो रौनक पुन: फर्किन थालेको छ ।
सुनामीले जम्मा ८५ हजार तीन सय ११ घर पूर्णरूपमा र एक लाख ५१ हजार सात सय ३८ घर आंशिक रूपमा क्षति पुर्‍याएको थियो । आठ मिटरभन्दा अग्लो सुनामी गएपछि भत्केका संरचना, बगाएका सवारीसाधन र मानिसको शवले विरूप बनेको तोहोकुमा डेढ वर्षभित्रै आधाभन्दा बढी पुनर्निर्माण भइसकेको मियागी प्रिफेक्चर पुनर्निर्माण योजनाले जनाएको छ । ‘डेढ वर्षमा हामीले आधाभन्दा बढी पुनर्निर्माण सकेका छौँ, बाँकी सन् २०२० सम्ममा पूरा गर्ने योजना छ,’ मियागी प्रिफेक्चर पुनर्निर्माण योजनाका भूकम्प प्रकोप पुनरुत्थान नीति निर्देशक ताकामासा चिवाले भने, ‘सुनामीले हाम्रा संरचना कमजोर भएको प्रमाणित गर्‍यो, त्यसैले त्योभन्दा बलियो संरचना पुनर्निर्माण गरिरहेका छौँ ।’
उनका अनुसार अहिलेसम्म मियागीमा १२ हजार ६ सय २२ र जापानभर ८ लाख १९ हजार २० वटा नयाँ घर निर्माण भइसकेको छ । सुनामीबाट जापानमा तीन लाख २० हजार ८ सय ८५ विस्थापित भएका थिए । ११ अप्रिल २०११ मा उत्तरपूर्वी जापानको सान्रिकु तटभन्दा एक सय ३० किलोमिटर टाढा समुद्रको ओसिका पेनिन्सुइलामा दिउँसो २ बजेर ४६ मिनेटमा ९ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसका कारण दिउँसो ३ बजेर १० मिनेटमा उर्लेको आठ मिटरभन्दा अग्लो समुद्री छालसहित आएको सुनामीले तोहोकु क्षेत्रको पहाडका भित्ता समेत डुबाएको थियो ।

प्रतिक्रिया