औषधी परीक्षणबाट सयौँको मृत्यु

नयाँदिल्ली : भारत सरकारको ताजा आँकडाअनुसार सन् २०११ मा औषधी परीक्षणका क्रममा मुलुकभर चार सय ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांशमाथि विदेशी औषधि कम्पनीले परीक्षण गरेको र यसैकारण उनीहरूको मृत्यु भएको आँकडालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
मृत्यु हुनेमध्ये ४५ प्रतिशत स्थानीय फर्मा कम्पनीले औषधि परीक्षण गर्दा मारिएका थिए । यस्ता परीक्षणलाई अनुमति दिने प्रक्रियालाई थप कडाइ गर्न उपायको खोजी भइरहेको सरकारले जनाएको छ ।
विकासशील मुलुकमा औषधि परीक्षण गर्ने कम्पनीले कडाइका साथ नियमपालन नगरेको भन्दै बेलायतमा यसविरुद्ध आवाज उठेको छ । लन्डनमा जारी मेडिसिन इन्डेक्सका अनुसार अधिकांश कम्पनीले आफ्ना औषधी परीक्षण गर्ने जिम्मा ठेकेदारलाई दिने गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया