इजिप्टमा राष्ट्रपतिले सेनाको अधिकार बढाए

कायरो : निर्धारित मितिमै जनमतसंग्रह गराउने माहोल बनाउन भन्दै इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले सेनालाई थप अधिकार प्रत्यायोजन गरेका छन् । शान्ति सुरक्षा कायम गरी सार्वजनिक संस्थाको सुरक्षा सुनिश्ति गरेर निर्धारित मितिमै जनमतसंग्रह होस् भनेर मुर्सीले पक्राउ गर्नसक्ने अधिकार सेनालाई प्रदान गरेको बिबिसीले सोमबार जनाएको छ ।
मुर्सीको कदमले सरकारविरोधी आन्दोलन जारी राखेका विपक्षीहरूलाई रुष्ट बनाएको छ । इजिप्टमा मुर्सीको दल इस्लामिक ब्रदरहुडको दबदबा रहेकाले नयाँ संविधानको मस्यौदामाथि जनमतसंग्रह गराएर मुर्सीले आफू अनुकूलको संविधान जारी गर्न खोजेको आरोप विपक्षीले लगाएका छन् ।
त्यसैले घोषित संविधानसभा रोक्नुपर्ने उनीहरूको माग छ । विपक्षीहरूको मागअनुरूप मुर्सीले न्यायपालिकाबाट आफूलाई उन्मुक्त राख्ने नियम खारेज गरिसकेका छन् । तर, जनमतसंग्रह गराएरै छाड्ने अडान उनले लिएका छन् ।
मुर्सीको दल मुस्लिम ब्रदरहुडको आधिपत्य रहेको संविधानसभाले केही साताअघि नयाँ संविधानको मस्यौदा पारित गरेपछि इजिप्टमा सरकारविरोधी आन्दोलन चर्किएको थियो । मस्यौदामा प्रेस स्वतन्त्रता, न्यायिक सर्वोच्चता र शक्ति विकेन्द्रीकरणको अवधारणालाई लत्याइएको र मुर्सीलाई तानाशाही बनाउने उद्देश्यका साथ संविधानको मस्यौदामाथि जनमसंग्रह गराउने षड्यन्त्र रचिएको आरोप विपक्षीले लगाएका छन् ।
विपक्षीहरूले राजधानी कायरोसहित मुलुकका अन्य भागमा सरकारविरोधी प्रदर्शन अझै जारी राखेका छन् । जवाफमा मुर्सीको दलले प्रतिकार जुलुस निकाल्ने जनाएपछि इजिप्टमा रक्तपात मच्चिने भय बढेको छ । मुर्सीका समर्थकहरूले यसअघि जुलुस निकाल्दा राजधानी कायरोमा हिंंसा मच्चिएको थियो ।
समाचार एजेन्सी एएफपीले जनाएअनुसार जनमसंग्रहको परिणाम घोषणा भएसम्मको अवधिका लागि सुरक्षा व्यवस्था मजबुत पार्न मुर्सीले सेनालाई निर्देशन दिएका छन् । राष्ट्रपतिको निर्देशनपछि अब सेनाले सुरक्षा व्यवस्था मिलाउन प्रहरीसँग सहकार्य गर्नेछ । जनतालाई पक्राउ गर्नसक्नेसम्मको अधिकार सेनालाई मिल्नेछ । दशकौँ लामो तानाशाहीबाट भर्खरै मुक्त भएको इजिप्टमा आन्तरिक शान्तिसुरक्षाका लागि सेना परिचालन गरिएपछि इजिप्टको राजनीतिमा सेना पुन: हाबी हुने सम्भावना बढेको विश्लेषण गर्न थालिएको छ ।
इजिप्टका पूर्वतानाशाह होस्नी मुबारकको पतनपछि इजिप्ट प्रहरी ज्यादै कमजोर बनेको छ । मुबारकको पतनपछि इस्लामिक कट्टरपन्थीहरू सत्तामा पुगेकाले उनीहरूका गतिविधि नियन्त्रण गर्न प्रहरी असक्षम हुँदै आएको छ । राष्ट्रपति मुर्सीले सेनालाई थप अधिकार प्रत्यायोजन गरेलगत्तै सेनाले सक्रियता देखाउन थालिसकेको छ । विपक्षीहरूले राष्ट्रपति भवनछेउ धर्ना दिँदै आएकामा सोमबार धर्ना स्थलमा सेनाको उपस्थिति बढेको थियो । सेनाले धर्ना क्षेत्रलाई वरिपरिबाट कंक्रिटको गाह्रो लगाएर घेरेको छ ।
विपक्षी गठबन्धन नेसनल सेल्भेसन फ्रन्टले भने जनमतसंग्रहको विरोध गर्दै आएको छ । संविधानको नयाँ मस्यौदालाई कुनै पनि हालतमा स्वीकार नगरिने अडान फ्रन्टले लिँदै आएकाले जनमतसंग्रहमा विपक्षीहरूले सहभागिता जनाउने सम्भावना न्यून छ ।
स्मरण रहोस्, यसै साता सेनाले वार्तामार्फत विवाद समाधान गर्न राजनीतिक दलहरूलाई दबाब दिएको थियो । सहमतिको दिशाबाट राजनीति विमुख भए इजिप्टमा भयावह अवस्था सिर्जना हुने र यस्तो अवस्थामा मुलुक तथा जनताको रक्षाका लागि हस्तक्षेप गर्ने चेतावनी सेनाले दिएको थियो । सेनाको चेतावनीपछि राष्ट्रपति मुर्सीले आफ्नो संवैधानिक अधिकार कटौती गरेर सेनालाई थप अधिकार प्रत्यायोजन गरेका हुन् । (एजेन्सी)

प्रतिक्रिया