चीनमा अधिक असमानता

सांघाई : विश्वको सबैभन्दा बढी जनसंख्या भएको मुलुक चीनमा धनी तथा गरिबबीचको आर्थिक असमानता सबैभन्दा बढी भएको एक सर्वेक्षणले जनाएको छ । चीनले तीव्र आर्थिक वृद्धि हासिल गरिरहेको भए पनि यसले गरिब जनताको जीवनस्तर उकास्न नसकेको सर्वेक्षण नतिजालाई उद्धृत गर्दै प्रकाशित समाचारमा जनाइएको छ ।
आर्थिक असमानता नाप्न अधिक प्रयोग हुने ‘गिनी कोफिसिएन्ट’ सन् २०१० मा चीनमा ०.६१ रहेको ‘सर्वे एन्ड रिसर्च सेन्टर फर चाइना हाउसहोल्ड फाइनान्स’का विशेषज्ञहरूले जनाएको छ । तर, आर्थिक विश्लेषकहरूले चीनमा यस्तो दर ०.४० को हारहारीमा रहेको अनुमान गर्दै आएका थिए ।
यस मापनमा शून्यले पूर्णसमानता र १ ले पूर्णअसमानता देखाउँछ । संस्थाले गरेको सर्वेक्षणले चीनको घरेलु आयमा व्यापक असमानता रहेको पत्ता लगाएको छ । यो संस्था ‘युनिभर्सिटी अफ फाइनान्स एन्ड इकोनोमिक्स’ तथा ‘इन्स्टिच्युट अफ फाइनान्सियल रिसर्च’ले स्थापना गरेका हो ।
यस संस्थाले ०.६१ गिनी कोफिसिएन्ट विश्वका थोरै मुलुकमा मात्र हुने गरेको देखाएको छ । चीनमा गरिब तथा धनीबीचको खाडल कम्युनिस्ट अधिकारीहरूका लागि प्रमुख चिन्ताको विषय बनेको छ । चीनको जनसंख्या एक अर्ब ३० करोड छ । यति ठूलो जनसंख्या भएको मुलुकमा आर्थिक असपमानता बढिरहेकाले यस समाजमा अस्थिरता बढ्नसक्ने चिन्ता विश्लेषकले व्यक्त गरेका छन् ।

प्रतिक्रिया