गरीव गाउँको भ्रमण ‘पिकनिक’ : पुत्र प्रकाश

काठमाडौं, २३ मंसिर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालले प्रधानमन्त्री बाबुराम भट्टराईको गरीव गाउँको भ्रमण पिकनिकमा मात्रै सिद्ध हुने को कि भनेर टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत आज प्रकाशले प्रधानमन्त्री भट्टराईलाई गरीव गाउँको वसाई र त्याहाँ बोलेका कुराहरु पुरा गर्न सुझाव दिए ।
‘प्रधानमन्त्रीले थारु बस्तीमा मूसा खाएर भन्दा नि थारुबीच के बोले र बोलेका छन् त्यस तर्फ पत्रकारले ध्यान दिनु पर्छ,’ उनले भनेका छन्, ‘बरु त्यसलाई पूरा गराउन दबाबमूलक भूमिका पत्रकारले खेल्नु पर्छ ।’
‘कुरा पूरा गराउन दबाबमूलक भूमिका पनि पत्रकारले खेल्नु पर्छ जस्तो मलाई लाग्छ,’ उनले भनेका छन्, ‘नत्र गरीब गाउँको अहिले सम्मको भ्रमण केवल पिकनिकमात्र सिद्ध भएको छ ।’
पुत्र प्रकाशले प्रधानमन्त्री सम्बन्धी आफ्नो भावना आज करिव तीन बजे राखेका हुन् । उनले अन्तमा रोमनबाट लेखेका छन्, ‘अन्यथा कसैले नलिनु होला, यो रियालिटी हो ।’
आफ्नै पार्टीका केन्द्रीय नेताहरुलाई लिएर फेसबुक स्टाटस लेखेर विभिन्न समयमा पुत्र प्रकाश चर्चामा आउने गर्छन् ।
प्रधानमन्त्री भट्टराईले शुक्रबार राति कैलालीमा मुक्त कमैयाको वस्तीमा बसेर मुसाको मासु खाएको समाचार आए लगत्तै भएका टिकाटिप्पणी पछि पुत्र प्रकाशले बचाउमा फेसबुक मार्फत सो स्टाटस लेखेका हुन् । (तस्विर सौजन्यः पुष्प जोशी)

प्रतिक्रिया