१३ केजी चरेससहित सातजना पक्राउ

कैलाली, १९ मंसिर । प्रहरीले १३ किलो १ सय ग्राम चरेस र ८१ हजार ८ रुपियाँसहित सातलाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष टोलीले आइतबार राति कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक नेपाली सेनाका जवान र एक महिला छन् । प्रहरीले बैतडी घर भई धनगढी–४ बस्ने ३० वर्षीय भानसिंह कठायत, ४२ वर्षीय धनसिंह विष्ट र गणेशसिंह भट्टलाई गेटा–९ राजपुरस्थित सावित्री होटलबाट ५ किलो चरेस, ५६ हजार ६८ नेपाली रुपियाँ र १३ हजार ४ सय भारतीय रुपियाँ तथा उनीहरूले प्रयोग गरेको बा.५प ५१२६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ ।
उनीहरूसँगै कारोबारमा संलग्न ४४ वर्षीया होटल सञ्चालिका पार्वती भन्ने धना विष्टलाई पनि पक्राउ गरेको एसपी घनश्याम अर्यालले बताए । विष्टले खाटमुनि लुकाएर राखेको अवस्थामा आठ सय ग्राम चरेस पनि बरामद गरेको छ । त्यस्तै, प्रहरीले धनगढीको क्याम्पस चोकमा रहेको बझाङ बोहरा होटलका सञ्चालक मोहन बोहरालाई २ किलो ३ सय ग्राम चरेससहित पक्राउ गरेको छ । यस्तै, धनगढी–१ बाट बझाङ गड्राय घर भई नेपाली सेनाको कैलालीस्थित तेघरी ब्यारेकमा कार्यरत सिपाही २४ वर्षीय केशवबहादुर सिंह र धनगढी–१ बस्ने ३५ वर्षीय पृतमबहादुर सिंहलाई ५ किलो चरेस, ३ हजार ५ सय नगद र से.१प ५४१६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको अर्यालले बताए ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो । पक्राउ परेकाहरूले बाजुरा, बझाङबाट चरेस खरिद गरी बिक्री गर्ने गरेको बताएका छन् । उनीहरूले लामो समयदेखि भारततिर चरेस पैठारी गर्ने र कैलालीमा पनि सानो टुक्रा बनाएर बेच्ने गरेको पत्रकार सम्मेलनमा बताएका थिए । पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन–०३३ बमोजिम कारबाहीको प्रक्रिया अघि बढाएको अर्यालले बताए । ऐनमा पाँच सय ग्रामदेखि २ किलोसम्म चरेस कारोबारीलाई ६ महिनादेखि २ वर्षसम्म कैद र २ हजारदेखि १० हजारसम्म जरिवानाको व्यवस्था छ । यस्तै, २ किलोदेखि १० किलोसम्मकालाई १ वर्षदेखि ३ वर्ष कैद र ५ हजारदेखि २५ हजार रुपियाँसम्म जरिवाना र १० किलोमाथि भए २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपियाँसम्म जरिवाना गरिने प्रावधान छ ।
प्रहरीले एक महिनायता कञ्चनपुरमा साढे सात किलो, बझाङमा ६८ किलो र कैलालीमा यसअघि साढे दुई किलो र आइतबार १३ किलो १ सय ग्राम गरी ९१ किलो १ सय ग्राम चरेस बरामद गरेको सेती अञ्चल प्रहरी प्रमुख एसएसपी विजयराज भट्टले बताए । यस्तै, प्रहरीले कैलालीको खैलाड–४ खुरखुरिया गाउँमा भैँसी चोर्न आएका तीन भारतीय नागरिकबाट भरुवा बन्दुक १ थान र त्यसमा लाग्ने गोली एकथान तथा नलकटुवा पेस्तोल एकथान र त्यसको गोली एकथान पनि बरामद गरेको छ । भारत लखिमपुर डागा ग्राम पञ्चायत–४ का २५ वर्षीय बुद्धा मसुरिया भास्कर, १९ वर्षीय राजेशकुमार ठाकुर र सोही ठाउँ वडा नम्बर ७ का २० वर्षीय सुरेश लोनिया भन्ने अब्दुल अलीलाई हतियारसहित पक्राउ गरेको हो । उनीहरूलाई ज्यान मार्ने उद्योग र हातहतियार खरखजाना ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया