एमाओवादी नेतृत्व स्विकार्दैनौँ : नेपाली कांग्रेस

काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसले डा. बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बन्नै नसक्ने निष्कर्ष निकालेको छ । यही सरकारलाई सहमतीय स्वरूप दिने चर्चा चलेसँगै कांग्रेसको पदाधिकारी बैठकले यसप्रति आपत्ति जनाएको हो ।

सभापति सुशील कोइरालानिवास महाराजगन्जमा सोमबार बसेको बैठकले भट्टराईको पक्षमा सहमतिको वातावरण बनेको चर्चालाई खण्डन गरेको छ । उप–सभापति रामचन्द्र पौडेलले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा सहमतीय सरकार बन्न नसक्ने बताए । ‘राष्ट्रपतिले गर्नुभएको सहमतिको आह्वान सबै पार्टीलाई हो,’ उनले भने, ‘यो कदम केही दिनमै एउटा टुंगोमा पुग्छ ।’ चुनाव नै संकट समाधानको विकल्प भएको भन्दै उनले चुनावकै लागि पनि वर्तमान सरकार हटी नयाँ सरकार बन्नुपर्नेमा जोड दिए ।
‘अहिले प्रधानमन्त्री भट्टराईको नेतृत्वमा सहमतीय सरकार बन्ने कुनै पनि सम्भावना छैन,’ केन्द्रीय सदस्य डा. रामशरण महतले भने, ‘यो सरकारमा कांग्रेस कुनै हालतमा सहभागी हँुदैन ।’ फेरि पनि यही सरकारलाई सहमतीय स्वरूप दिने कुरा झिक्नुले एमाओवादीले वैशाखमा पनि चुनाव नचाहेको पुष्टि हुने उनले बताए ।
भारतीय नेता करण सिंह नेपाल आएलगत्तै भट्टराई नेतृत्वमै सहमतीय सरकार बन्ने चर्चा चलेको हो । राष्ट्रपति डा. रामवरण यादवले पनि केही दिनअघि सार्वजनिक कार्यक्रममै यही सरकारलाई दलहरूले सहमतीय स्वरूप दिन सक्ने अभिव्यक्ति दिएका थिए ।

दाहाल र प्रधानमन्त्रीसित भेट
सोमबारै बिहान सभापति कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छुट्टाछुट्टै भेट गरे । भेटमा उनले तत्काल सहमतीय सरकार बनाउनुपर्ने भन्दै यसमा आºनो दलको दाबी रहने बताएका थिए । राजनीतिक संकट निकासका लागि भेट भनिए पनि दुवै नेतासँगको भेटमा सरकारको नेतृत्व आºनो दलले गर्नुपर्ने अडान कोइरालाले दोहोर्‍याएका थिए । महतका अनुसार दुवै नेतासँग कोइरालाले तत्काल सहमतिको वातावरण बनाउन मार्गप्रशस्त गर्न आग्रह गरे ।
दाहालसँगको छलफलमा कोइरालाले फेरि बाबुरामको नाममा सहमति जुटाउने प्रयासप्रति विरोध जनाएको स्रोतले बतायो । अहिलेकै प्रधानमन्त्रीको नाममा सहमति हुने चर्चाले दलबीच बन्न लागेको सहमतिको वातावरण बिग्रिने भन्दै कोइरालाले प्रधानमन्त्रीले बाटो खोलिदिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया