इजिप्टमा जनमतसंग्रह हुने

कायरो : इजिप्टका राष्ट्रपति मोहम्मद मुर्सीले देशको नयाँ संविधानको मस्यौदामाथि डिसेम्बर १५ मा जनमतसंग्रह हुने घोषणा गरेका छन् । मुर्सीको दल ‘मुस्लिम ब्रदरहुड’को बहुमत रहेको संविधानसभाले नयाँ संविधानको मस्यौतालाई स्वीकृति प्रदान गरेको केहि दिनभित्रै स्थानीय टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै मुर्सीले यस्तो घोषणा गरेका हुन् । इजिप्टमा विशेष गरी धर्मनिरपेक्षताको वकालत गर्ने र क्रिस्चियन समुदायका मानिसले नयाँ संविधानको मस्यौदाको विरोध गरिरहेका छन् ।
मस्यौदामा उल्लेख गरिएको एउटा विवादास्पद प्रावधानमा राष्ट्रपतिमाथि असीमित अधिकार रहने उल्लेख भएपछि राष्ट्रपति मुर्सीको देशव्यापी विरोध सुरु भएको थियो । आफ्ना लागि असीमित अधिकार सञ्चय गरेर मुर्सीले मुलुकमा तानाशाही लाद्न खोजेको आरोप लगाउँदै उनीविरुद्ध प्रदर्शन भएको थियो । तर, शनिबार राजधानी कायरोमा आफ्ना समर्थकको विशाल जुलुस निकालेर मुर्सीले शक्ति प्रदर्शन गरेका छन् । राजधानी कायरोसहित अन्य सहरमा समेत गरी करिब एक लाख मानिसले मुर्सीको पक्षमा जुलुश निकालेको अनुमान गरिएको छ ।
सम्बोधनका क्रममा मुर्सीले नयाँ संविधानको मस्यौदाबारे फैसला गर्ने अधिकार इजिप्टवासीलाई भएको जिकिर गर्दै सबै देशवासीलाई जनमतसंग्रहमा सहभागि हुन आह्वान गरे । पछिल्लो आम निर्वाचनको कुशल अनुगमन गरेको भन्दै मोर्सीले इजिप्टको न्यायपालिकाको प्रशंसा गरे । अब हुने जनमतसंग्रह इजिप्टको प्रजातान्त्रिक अभ्यासको कोशेढुंगो साबित हुने विश्वास समेत व्यक्त गरे ।
विपक्षी दलका एक नेताले व्यक्तिगत स्वतन्त्रता र प्रचलित विश्वव्यापी मुल्यमान्यतामाथि अंकुश लगाउने खालको नयाँ संविधानमाथि मुर्सीले जनमतसंग्रह गराउन लागेको आरोप लगाएका छन् । जनमत संग्रहले नयाँ संविधानको मस्यौदा स्वीकृत गरे अहिलेसम्म भएका सम्पूर्ण संवैधानिक घोषणा स्वत: खारेज हुनेछन् । साथै नयाँ संविधान जारी भएको ६० दिनभित्र इजिप्टमा नयाँ संसदीय निर्वाचन समेत गराउनुपर्नेछ ।
तर, इस्लामिक कट्टरपन्थीको दबदबा रहेको मुर्सीको दलले भने मुर्सीको समर्थन गरेको छ । शनिबार मुर्सीको समर्थनमा निकालिएको र्‍यालीमा ब्यानर, पोस्टर र मुर्सीको तस्बिर लिएका  हजारौँ समर्थक सहभागि थिए । उनीहरूले ‘जनता राष्ट्रपतिका पक्षमा छन्, जनता अल्लाहको संविधान चाहन्छन्,’ जस्ता नारा लगाएका थिए ।
यसैबीच मुर्सीका समर्थक र विरोधीबीच शनिबार भएको झडपमा कम्तीमा एकको मृत्यु भएको छ भने अन्य २० घाइते भएका छन् । मुर्सीका समर्थकले कायरो विश्वविद्यालयबाहिर विशाल जुलुस निकालेका बेला मुर्सीका विरोधीले नवौँ दिन समेत तहरिर स्क्वायर कब्जा गरेर प्रदर्शन गरेका थिए । (एजेन्सी)

प्रतिक्रिया