कब्जा क्षेत्रमा इजरायलले बस्ती बसाउने

जेरुसेलम : इजरायलद्वारा अतिक्रमित प्यालेस्टाइनी भूमी पूर्वी जेरुसेलम र पश्चिम किनारमा इजरायलले बस्ती बसाउने भएको छ । तीन हजार आवासीय केन्द्र निर्माण गर्ने घोषणा इजरायलबाट भए पछि यसबाट मध्यपूर्वमा विद्यमान संकट गहिरिने जोखिम बढेको छ ।
बेन्जामिन नेतान्याहु नेतृत्वको इजरायलको कन्जरभेटिभ सरकारले कब्जा क्षेत्रमा हजारौँ आवास निर्माण गर्ने निर्णय गरेको हो । राष्ट्रसंघ महासभामा बिहीबार भएको निर्वाचनले प्यालेस्टाइनलाई राष्ट्रसंघको गैर सदस्य पर्यवेक्षक राष्ट्रको दर्जा दिइएको भोलिपल्ट इजरायलले यस्तो निर्णय गरेको हो ।
इजरायली सञ्चारमाध्यमका अनुसार जेरुसेलम र माले अदुमिमबीचका विभिन्न ठाउँमा इजरायलले आवासीय इकाइ निर्माण गर्नेछ । यसबाट रुष्ट भएको प्यालेस्टाइनले इजरायलसँगको शान्ति वार्ता ठप्प पार्ने चेतावनी दिएको छ । प्यालेस्टाइनी प्राधिकरणका एक अधिकारीका अनुसार बस्ती बिस्तार गर्ने योजना फिर्ता नलिएसम्म इजरायलसँगको कुनै पनि शान्ति वार्तालाई प्यालेस्टाइनी पक्षले अस्वीकार गर्नेछ ।
राष्ट्रसंघले प्यालेस्टाइनलाई गैरसदस्य पर्यवेक्षकको हैसियत प्रदान गरेपछि रुष्ट भएको इजरालले राष्ट्रसंघको निर्णय स्वीकार्य नहुने प्रतिक्रिया दिएको थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलविरुद्ध राष्ट्रसंघमा गरिएको मतदानले इजरायलको रौँ पनि नहल्लिने र दुनियाँको कुनै पनि शक्तिले यहुदीहरूलाई उनीहरूको भूमिबाट बेदलख गर्न नसक्ने प्रष्ट पारेका थिए । राष्ट्रसंघको निर्णयले राज्यका रूपमा स्थापित हुृने प्यालेस्टाइनको दिन पर धकेलिँदै जाने उल्लेख गरेका थिए ।
इजरायल र प्यालेस्टाइनबीच अस्तित्वको लडाइँ जारी छ । मध्यपूर्वमा इजरायलको अस्तित्व स्विकारे प्यालेस्टाइनको अस्तित्व समाप्त हुने र प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिए इजरायलको अस्तित्व संकटमा पर्ने जोखिम रहेको विश्लेषण गरिन्छ । प्यालेस्टाइनलगायत अरब जगतका जनताले इजरायलले प्यालेस्टाइनी भूमि कब्जा गरेर प्यालेस्टाइनीलाई धपाएको आरोप लगाउँदै आएका छन् । तर, इजरायलले भने यस्तो आरोप अस्वीकार गर्दै अहिले इजरायल रहेको क्षेत्र हजारौँ वर्षदेखी यहुदीहरूकै भूमिरहेको दाबी गर्दै आएको छ ।
अमेरिकाद्वारा आलोचना
बस्ती निर्माण गर्ने इजरायली घोषणाको अमेरिकाले आलोचना गरेको छ । इजरायलको रणनीतिक साझेदार राष्ट्रसमेत रहेको अमेरिकाले प्यालेस्टाइनविरुद्ध इजरायलको फौजी तथा राजनीतिक लडाइँमा साथ दिँदै आएको भए पनि बस्ती निर्माण योजनाको भने उसले विरोध गरेको छ ।
अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले बस्ती निर्माण कार्यबाट इजरायल र प्यालेस्टाइनबीच जारी शान्ति प्रक्रिया प्रभावित हुने र यसबाट प्रत्युत्पादक अवस्था सिर्जना हुनसक्ने जनाएकी छिन् । अब चालिने जुनसुकै कदम होसियारपूर्वक चालिनुपर्ने र दुई राज्यबीच विद्यमान समस्या समाधानका लागि वार्ता अगाडि बढाउनुपर्नेमा उनले जोड दिएकी छिन् । समस्या समाधान गर्न प्रत्यक्ष वार्ताका लागि दुवै पक्ष तयार भए राष्ट्रपति ओबामाले वार्ता समन्यव गर्नसक्ने उनले उल्लेख गरिन् । (एजेन्सी)

प्रतिक्रिया