अलविदा भीम दाई…….

काठमाडौं, १६ मंसिर । कांग्रेसले सिद्धान्तनिष्ठ, इमान्दार र व्यवहारवादी एक नेतालाई आज देखि गुमाएको छ ।
बिहान ‘मर्निङ वाक’ गरेर कोठामा फर्केका नेता भीमबहादुर तामाङ अब रहेनन् । आफ्नो आदर्श प्राप्तीका लागि बन्दुक देखि शान्तिको झण्डा बोकेका तामाङ समकालीन राजनीतिमा एउटा आदर्शवादी नेताका रुपमा समेत चिनिन्छ ।
तामाङले वीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद नै सबैभन्दा ठूलो समावेशी दर्शन हो भन्ने स्पष्ट मान्यता राख्दै आएका थिए । जातीय र क्षेत्रीय भावनाका आधारमा समाजमा बिग्रह ल्याउन नदिन आफू मर्नु अघि सम्म पनि क्रियाशील नेता गुमाउँदा कांग्रेस र शुभेच्छुकले ठूलो रिक्तता महशुस गरेका छन् ।
जातीय सद्भाव र बलियो राष्ट्रिय एकताका पक्षमा खरो रुपमा उत्रिने तामाङ सधै सबैका लागि प्रेरणा स्रोतका रुपमा रहे । तामाङले आफ्नो सम्पूर्ण जीवन प्रजातान्त्रिक समाजवाद प्राप्तीका लागि अर्पीए ।
दोलखा जिल्लाको झले गाविसमा विक्रम संवत १९९२ सालमा जन्मीएका तामाङ २०१४ सालमा कांग्रसमा आबद्ध भएका हुन् ।
२०१७ सालमा राजा महेन्द्रले शासन सत्ता हातमा लिई लोकतन्त्र खोसेपछि सुर्बण शम्शेर राणाले चलाएको सशस्त्र क्रान्ति र २०२८ सालमा वीपी कोइरालाको आव्हानमा भएको अर्को क्रान्तिमा तामाङले बन्दुक बोकेर होमिए ।
त्यसक्रममा उनले वीपी कोइरालाको अंगरक्षकको जस्तो भूमिका पनि निर्वाह गरेको समकक्षीहरुको भनाई छ । उनको राजनीतिक इमान्दारीतालाई मनपराएर वीपीले नजिक राखेका हुन् । क्रान्तिकारी छबि बोकेका तामाङ कांग्रेस भित्र अध्ययनशील र योगदान गर्ने नेताका रुपमा स्थापित थिए ।
वीपी कोइरालाको निकटमा रहेका उनको जीवनयापनमा प्रजातान्त्रिक समाजवादी चिन्तनको छाप प्रष्ट देखिन्छ ।
वीपी कोइरालासँगै लामो समयसम्म भारत निर्वासमा रहेका उनी २०३६ सालको जनमतका क्रममा नेपाल फर्के ।
जानकारहरुका अनुसार वीपी कोइरालाले तामाङलाई कुनै दस्तावेज वा लिखत अंग्रेजी भाषामा अनुवाद गर्नका लागि जिम्मेवारी पनि गर्दथे ।
लोकतान्त्रिक आन्दोलनमा समर्पित नेता तामाङले पछिल्लो समयमा देशमा सामाजिक सद्भाव बिथोलिन नदिन गम्भीरतापूर्वक आफूलाई प्रस्तुत गरे ।
कांग्रेसले उनलाई आदिवासी जनजातिहरुको मुद्दा सम्बोधन गर्न आवश्यक पर्ने सुझाव र गृहकार्यका लागि समिति गठन गरेर जिम्मेवारी दिएको थियो ।
सिद्धान्तप्रति प्रतिबद्ध तामाङ लोकतान्त्रिक समाजवादको छाहारीमा सबै अटाउँछन् र त्यसरी अटाउँदा मानवजातीको कल्याण हुन्छ भन्ने मान्यतामा अडिक रहेका थिए ।
नेता तामाङले यस अघि भएको कांग्रेसको महाधिबेशनमा सभापतिका लागि उम्मेदवार पनि दिए । माहाधिबेशनमा उनले आफ्नो उम्मेदवारी जितका लागि भन्दा पनि आफ्ना मुद्दा पार्टीमा स्थापित गराउन लागेको प्रतिक्रिया तत्कालीन समयमा दिएका थिए ।
उनको सादा जीवन, सरल र पारदर्शी जीवनशैली समकालीन नेपाली राजनीतिमा नमूनाका रुपमा लिइन्छ ।
राजनीतिमा कहिलेकाँही अप्रिय निर्णय पनि लिनसक्नु पर्दछ र ‘एन्टी करेण्ट’मा उभिन सक्नु पर्छ भन्ने वीपी कोइरालाको भनाइबाट प्रभावित देखिने तामाङ देशमा जातीय भावना फैलदै गर्दा त्यसको विपक्षमा उभिएर जातीय सद्भाव तथा बलियो राष्ट्रिय एकताका पक्षमा देखिए । सो कार्यले उनको राजनीतिक व्यक्तित्वलाई अझ उचाई प्रदान गरेको छ ।
तामाङ नेपालमा जातीय सद्भाव र बलियो राष्ट्रिय एकता चाहनेहरुका निम्ती सधै प्रेरणाका स्रोतका रुपमा रहे । उनलाई कांग्रेस भित्र सत्य बोल्ने नेता पनि भन्ने गर्दछन् ।
मन्त्रीसमेत भएका कांग्रेस नेता तामाङ राजधानीमा आजीवन भाडाको घरमा जीवन विताए । पछिल्लो समय उनी कांग्रेसका पूर्व सभासद् तथा वरिष्ठ अधिवक्ता राधेश्यम अधिकारीको घरमा भाडामा बस्दै आएका थिए ।
लोभलालच नगर्ने नेता तामाङको निधनबाट कांग्रेसले मात्रै नभई समग्र मुलुकले योग्य र सक्षम नेता गुमाएको छ । एक छोरा र छोरी छन् ।

प्रतिक्रिया