नेपालप्रति चीन र भारतको समान धारणा : हौलान

काठमाडौं, १६ मंसिर । चिनियाँ राजदूत यङ हौलानले नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा चीन र भारतको समान धारणा रहेको बताएका छन् ।

राजधानीमा शुक्रबार आयोजित एक साक्षात्कारमा राजदूत हौलानले यस विषयमा नयाँदिल्ली र बेइजिङबीच परामर्श जारी रहेको जानकारी दिए । नेपालमा राजनीतिक र सामाजिक स्थायित्व भए चीन र भारत दुवैका लागि हितकर हुने उनले बताए । ‘नेपालको वर्तमान अवस्थाले छिटो निकास पाउनेमा चीन आशावादी छ,’ उनले भने, ‘नेपालको पछिल्लो राजनीतिक अवस्था जटिल भए पनि त्यसलाई नेपाली जनताले समाधान गर्नेछन् ।’
उनले भारत र चीनबीचको सम्बन्ध अहिले निकै सुमधुर रहेको उल्लेख गर्दै दुवै मुलुकले एकअर्काको सहयोगमा विश्वास गर्ने दाबी गरे । अहिलेको विश्व परिवेशमा एक मुलुकले अर्को मुलुकलाई नियन्त्रण गर्ने नभई सहकार्यमा अगाडि बढ्ने उनको भनाइ थियो ।
चीनमा आएको नयाँ नेतृत्व विश्वको आर्थिक विकाससँगै पर्यावरणीय र शान्ति स्थापनामा केन्द्रित हुने विश्वाससमेत उनले व्यक्त गरे ।

प्रतिक्रिया