पशुमैथुन रोक्न कानुन संशोधनको प्रयास

बर्लिन : जर्मनीको गठबन्धन सरकारले जनावरसँगको सेक्स (पशुमैथुन) माथि प्रतिबन्ध लगाउन कानुन परिवर्तनको तयारी गरेको छ । जर्मन संसद्को कृषि समितिले पशुमैथुन गर्नेविरुद्ध कडा कानुन बनाएर यसलाई हतोत्साही गर्ने प्रयास अघि बढाइरहेको छ । पशुमैथुनमा संलग्नलाई २५ हजार युरोभन्दा बढी जरिवाना तिराउने गरी मौजुदा कानुन संशोधन गर्ने दिशामा जर्मन सरकार लागिपरेको छ ।
प्राप्त समाचारअनुसार यस विषयमा १४ डिसेम्बरमा जर्मन संसद्को तल्लो सदनमा मतदान हुने भएको छ । सन् १९६९ मा जर्मनीमा पशुमैथुनलाई वैध करार दिइएको थियो । त्यसयता पशुमाथि दर्दनाक व्यवहार नगरी गरिने मैथुनलाई त्यहाँको कानुनले छुट दिँदै आएको छ । जर्मनीका पशु अधिकारवादीले उक्त कानुनको चर्को विरोध गर्दै आएका छन् ।
जर्मन संसदीय समितिका निर्देशक हान्स माइकल गोल्डम्यानले आफूहरू कानुन संशोधन गर्ने दिशामा लागिपरेको जानकारी दिँदै भने, ‘पशु मैथुनमाथि कानुनी रूपमै प्रतिबन्ध लागेपछि यस्ता कार्यमा संलग्नलाई सजाय दिलाउन सहज हुनेछ र पशुमाथिको अनैतिक कार्य बन्द हुनेछ ।’ पशुमैथुन अप्राकृतिक भएकाले यसमाथि प्रतिबन्ध लगाउनुपर्ने समिति सदस्यहरूको भनाइ छ ।
तर, ‘टार्लेस एन्ड इन्गेजमेन्ट जुफिला (जिटा)’ नामक समूहका सदस्यले भने कानुन संशोधन प्रयासप्रति आपत्ति जनाएका छन् । संसद्ले कानुन संशोधनका पक्षमा मतदान गरे यसविरुद्ध अदालत जाने चेतावनी उनीहरूले दिएका छन् ।
यसबारे जिटाका निर्देशक माइकल क्याँकले भने, ‘पशुलाई हानि पुर्‍याएको प्रमाणविना कसैलाई सजाय दिने अवस्था हामीलाई कुनै पनि हालतमा स्वीकार्य छैन ।’ जनावरको राजीखुसीमा गरिने मैथुन आपत्तिजनक नभएको उनको भनाइ छ । ‘हामी पशुलाई सिर्फ सन्तुष्टि दिलाउने साधनका रूपमा हेर्दैनौँ । मैथुनप्रति सहमति अथवा असहमति जनाउने उनीहरूको आºनै तरिका हुन्छ । मैथुनका लागि उनीहरूलाई हामी बाध्य पार्दैनौँ ।’ साथै, उनले महिलालाई भन्दा पाल्तु जनावरलाई ‘सेक्स’का लागि सहमत गराउन सजिलो भएको जिकिरसमेत गरेका छन् ।
जनावरमाथिको सेक्स होल्यान्ड, फ्रान्स, स्विट्जरल्यान्डलगायत युरोपेली मुलुकमा प्रतिबन्धित छ । पथुमैथुनमा संलग्नलाई बेलायतमा आजीवन कारावास सजाय दिने प्रावधान थियो । तर, सन् २००३ मा उक्त कानुनलाई खुकुलो पार्दै यस्ता क्रियाकलापमा संलग्नलाई दुई वर्ष जेलसजाय दिनेगरी कानुन संशोधन गरिएको थियो । बेल्जियम, स्विडेनलगायत कतिपय युरोपेली मुलुकमा भने जनावरमाथिको मैथुनलाई कानुनी मान्यता प्राप्त छ । जर्मनीमा झैँ स्विडेनमा पनि यस्तो कानुनमा बदलाव ल्याउने प्रयास भइरहेको छ । (बिबिसी)

प्रतिक्रिया