इजरायलको सुरक्षामा सम्झौता नगर्ने दृढता

जेरुसेलम : राष्ट्रिय सुरक्षामाथि सम्झौता गर्न इजरायललाई कसैले बाध्य पार्न नसक्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । बिहीबार राष्ट्रसंघमा प्यालेस्टाइनलाई राष्ट्रसंघको गैरसदस्य हैसियत दिलाउनुपर्ने प्रस्तावका पक्षमा अधिक मत जाहेर भएपछि उनले यस्तो धारणा राखेका हुन् ।
‘इजरायलविरुद्ध जतिसुकै मदतान किन नखसोस्, इजरायलको सुरक्षाप्रति सम्झौता गर्न मलाई कसैले बाध्य पार्न सक्ने छैन,’ चेतावनीको स्वरमा नेतान्याहुले भने । दुनियाँको कुनै पनि शक्तिले यहुदीहरूलाई उनीहरूको भूमिबाट बेदखल गर्न नसक्ने उनले प्रस्ट पारे ।
बिहीबार राष्ट्रसंघमा व्यक्त भएको विश्व जनमतले इजरायलको रौँ पनि नहल्लिने जिकिर गर्दै उनले भने, ‘राष्ट्रसंघमा भएको निर्णयले वास्वतमै कुनै प्रभाव पार्न सक्दैन । यसबाट प्यालेस्टाइन राज्य स्थापना हुन सक्दैन, बरु राज्यका रूपमा स्थापित हुने प्यालेस्टाइनको दिन पर धकेलिँदै जान्छ ।’
इजरायल र प्यालेस्टाइनबीच अस्तित्वको लडाइँ जारी छ । मध्यपूर्वमा इजरायलको अस्तित्व स्विकारे प्यालेस्टाइनको अस्तित्व समाप्त हुने र प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिए इजरायलको अस्तित्व संकटमा पर्ने जोखिम रहेको विश्लेषण गरिन्छ । राष्ट्रसंघले मध्यमार्गी धार समाएर प्यालेस्टाइनलाई राष्ट्रसंघको गैरसदस्यराष्ट्रको मान्यता दिने प्रयास गरिरहेको भए पनि इजरायलले यसप्रति आपत्ति जनाउँदै आएको छ । प्यालेस्टाइनलगायत अरब जगतका जनताले इजरायलले प्यालेस्टाइनी भूमि कब्जा गरेर प्यालेस्टाइनी जनतालाई धपाएको आरोप लगाउँदै आएका छन् । तर, इजरायलले भने यस्तो आरोप अस्वीकार गर्दै अहिले इजरायल रहेको क्षेत्र हजारौँ वर्षदेखि यहुदीहरूकै भूमि रहेको दाबी गर्दै आएको छ ।
प्यालेस्टाइनले राज्यको हैसियत पाउनुपर्ने पक्षमा विश्वका अधिकांश राष्ट्रले सहमति जनाउँदै आएका छन् । तर, अमेरिकासँग मिलेर इजरायलले स्वतन्त्र राष्ट्रको हैसियत प्राप्त गर्ने प्यालेस्टाइनको अग्रसरतालाई कूटनीतिक र फौजी दुवै मोर्चामा चुनौती दिँदै आएको छ । इजरायल अमेरिकाको रणनीतिक साझेदार राष्ट्र हो ।
इजरायलले प्यालेस्टाइनमाथि बर्बर दमन गर्ने गरेको आरोप खण्डन गर्दै प्रधानमन्त्री नेतान्याहुले भने, ‘इजरायलले सधँै शान्तिको पक्ष लिँदै आएको छ । तर, यहुदीहरूको राज्यका रूपमा इजरायललाई मान्यता नदिएसम्म प्यालेस्टाइनले राज्यको हैसियत पाउन सक्दैन भन्ने सबैले बुझ्न आवश्यक छ ।’ इजरायलको सुरक्षा संवेदनशीलतालाई कुल्चिएर र उसको सहमति बेगर गरिने एकपक्षीय घोषणा अथवा निर्णयले मध्यपूर्वको सबैभन्दा जटिल इजरायल–प्यालेस्टाइन संकट समाधान हुन नसक्ने यथार्थ बुझ्न उनले सबैसँग आग्रह गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया