पाकिस्तानद्वारा आणविक क्षेप्यास्त्र परीक्षण

इस्लामावाद : पाकिस्तानले बुधबार आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ । हाफ पाँचौँ गौरी नाम दिइएको सो क्षेप्यास्त्रले करिब एक हजार ३०० किलोमिटर परसम्मको दूरीमा निसाना साध्न सक्ने पाकिस्तानको सैनिक स्रोतले जनाएको छ । क्षेप्यास्त्र परमाणु क्षमतायुक्त रहेको समेत जनाइएको छ ।
सैनिक स्रोतका अनुसार यो यस वर्षको आठौँ आणविक क्षेप्यास्त्र परीक्षण हो । दुई महिना पाकिस्तानले हाफ सातौँ नामक क्षेप्यास्त्र परीक्षण गरेको थियो । सो क्षेप्यास्त्र करिब ७ सय  किलोमिटरसम्म मार हान्न सक्ने क्षमताको रहेको थियो । यस्ता आणविका क्षेप्यास्त्र परीक्षणमा भारत र पाकिस्तानको प्रतिस्पर्धा हुने गरेको छ । यी दुई देश दक्षिण एसियाका आणविक शक्तिसम्पन्न राष्ट्र हुन् ।
यी दुई देश सन् १९४७ मा अस्तित्वमा आएपछि सीमा क्षेत्रको विवादका कारण आजसम्ममा तीनवटा युद्ध लडेका छन् । एक अमेरिकी अनुसन्धान निकायका अनुसार भारतसग ७० देखि ९० वटा परमाणु क्षेप्यास्त्र छन् भने पाकिस्तानसँग ९० देखि १ सय १० वटा परमाणु क्षेप्यास्त्र रहेको छ । संख्यामा पाकिस्तानसँग बढी क्षेप्यास्त्र भए पनि लामो दूरीसम्म मार हान्नसक्ने सवालमा भने पाकिस्तानभन्दा भारत अगाडि छ । (एजेन्सी)

प्रतिक्रिया