अभियुक्तसँग सोधपुछका लागि प्रहरी भारत जाने

विराटनगर, १४ मंसिर । सुनसरीको झुम्कास्थित पूर्वाञ्चल क्षेत्रीय कारागारबाट सुरुङ खनेर फरार भएका कैदीमध्ये मुख्य योजनाकार बंगलादेशी नागरिक अली असरफ भनिने सुब्रत बेनसँग सोधपुछ गर्न प्रहरीको टोली भारत जाने भएको छ ।
तीन साताअघि झुम्का कारागारबाट फरार भएका बेन भारतमा पक्राउ परेपछि घटनाका विषयमा अनुन्धान गर्न प्रहरीको टोली त्यसतर्फ जाने भएको हो । प्रहरीले बेनसँग सोधपुछपछि कारागार प्रकरणबारे विस्तृत जानकारी पाउने अपेक्षासमेत गरेको छ । पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी पर्शुराम खत्रीले नेपाल प्रहरीको केन्द्रीय अपराध अनुसन्धान महाशाखाको टोलीमै पूर्वक्षेत्रीय प्रहरी कार्यालयको प्रतिनिधिसमेत सहभागी भएर भारत जाने बताए । ‘हेडक्वार्टरको टोलीसँगै हाम्रो पनि सदस्य मिसिएर जाने निर्णय भइसकेको छ,’ उनले भने, ‘कहिले जाने भन्ने टुंगो भएको छैन । जतिसक्दो चाँडो प्रहरीको टोली भारत जाने तयारीमा छ ।’ उनका अनुसार टिकट पाउनेबित्तिकै प्रहरी टोली भारत जानेछ । यद्यपि, सोधपुछका लागि को–को भारत जाने भन्नेबारे खत्रीले खुलाएनन् ।
बेन पश्चिम बंगाल राज्यअन्तर्गत कोलकताको बहु बजारबाट मंगलबार पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका बेनका साथबाट गोली लोड भएको एक थान पेस्तोल र ११ लाख नक्कली भारतीय रुपियाँसमेत बरामद भएको कोलकाता प्रहरी नियन्त्रण कक्षले जनाएको छ । उनी बंगलादेशको राजधानी ढाकामा आवामी लिगका नेता मिलको हत्या तथा सन् २००४ मा ढाकामै आवामी लिगको र्‍यालीमा ग्रिनेट आक्रमणका मुख्य आरोपी हुन् । बेनले नेपाल आएर सुनसरीको सिमरियाबाट अली असरफ अन्सारीका नाममा झुटो विवरण पेस गरेर नागरिकता लिएका थिए । झुम्का कारागारमा २३ कात्तिकमा उनकै योजनामा ३० मिटर लामो सुरुङ खनेर भारतीय कुख्यात अपराधी धीरेन्द्र यादवसहित १२ कैदी फरार भएका थिए ।
प्रहरीले बेनसँग सोधपुछपछि महत्त्वपूर्ण सूचना प्राप्त गर्ने अपेक्षा गरेको छ । डिआइजी खत्रीले कारागार प्रकरणका विषयमा अनुसन्धान जारी रहेको जानकारी दिँदै बेनसँगको सोधपुछबाट घटनाका विषयमा महत्त्वपूर्ण सूचना प्राप्त हुन सक्ने बताए । प्रहरीले आफ्नै ढंगबाट घटनाका छानबिन गरिरहेको छ । ‘धेरै सूचना प्राप्त भएका पनि छन्, बेनसँगको सोधपुछपछि हामी घटनाको विवरण र फरार अरू अपराधीको नजिक पुग्नेछौँ,’ उनले भने ।

प्रतिक्रिया