८ वर्षमा जम्मा दुई इमेल

संयुक्त राज्य अमेरिका भन्नेबित्तिकै दिमागमा प्राविधिक र भौतिक सम्पन्नताको तस्बिर नाच्छ । प्रविधिले त्यहाँका नागरिकको जीवनशैलीमा गतिलै प्रभाव पारेको छ । प्रविधि नियमित संस्कारजस्तै बनिसकेको छ । अझ त्यहाँका उच्चपदस्थ व्यक्तिको प्राविधिक जीवनशैली कस्तो होला ? भर्खरै मात्र दोहोर्‍याएर राष्ट्रपति चुनिएका बाराक ओबामाले सो पदमा पुग्न राम्रैसँग प्रविधिको साथ लिएका थिए । फेसबुक, इमेललगायतमा त्यहाँ जोसुकै पनि अभ्यस्त हुने गर्छ, कतिपय अवस्थामा यो अनिवार्य जस्तै पनि हुन्छ । तर तपाईंलाई अचम्म लाग्ला कि त्यहाँका भूपु राष्ट्रपति बिल क्लिन्टनले आफ्नो आठवर्षे कार्यकालमा जम्मा दुई ओटा मात्र इमेल पठाएका थिए ।
ह्वाइट हाउसमा रहँदाको अवधिभर उनले जम्मा दुई ओटा मात्र इमेल सेन्ट गरेको तथ्यले सबैलाई चकित
पारेको थियो । त्यसो त उनलाई मन्त्रिमण्डलका सदस्य तथा सहयोगीहरूबाट लाखौँ इमेल आएका थिए । ती इमेलमा प्राय: मेमो र नोट संग्लग्न थिए । क्लिन्टनले पठाएका दुई इमेलमध्ये एउटा परिक्षणका लागि मात्र पठाइएको थियो । दोस्रोचाहिँ उनले अन्तरीक्ष यात्रीबाट नेता बनेका जोन ग्लेनलाई पठाएका थिए । उक्त इमेल क्लिन्टनले आफ्ना सहयोगी मार्फत् लेखेका थिए । र, त्यो ह्वाइट हाउसबाट नै पठाइएको थियो ।

प्रतिक्रिया